काठमाडौँ। जनगुनासो सुन्ने मात्र नभई त्यसलाई समाधानको किनारसम्म पुर्याउने उद्देश्यका साथ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सेवा प्रवाहमा नयाँ शैली अपनाएको छ।
मन्त्री विराजभक्त श्रेष्ठले पदभार सम्हाले लगत्तै ‘गुनासो सुन्ने र तुरुन्त सम्बोधन गर्ने’ कार्यशैलीलाई प्राथमिकतामा राखेपछि मन्त्रालय र मातहतका निकायहरूमा सक्रियता बढेको हो।
मन्त्री श्रेष्ठको निर्देशनपछि विद्युत् सेवासँग सम्बन्धित २४सै घण्टा सञ्चालनमा रहने हटलाइन नम्बर ११५१ लाई थप प्रभावकारी बनाइएको छ। अब यो हटलाइन केवल गुनासो टिप्ने माध्यममा मात्र सीमित नरहेर समस्या समाधानको प्रत्यक्ष संयन्त्रका रूपमा विकास भएको मन्त्रालयले जनाएको छ। सेवाग्राहीका फोन, ह्वाट्स एप, इमेलदेखि ुहेलो सरकारु सम्म आएका गुनासोलाई तत्काल सम्बन्धित निकायसँग समन्वय गरी हल गर्ने प्रणाली बनाइएको छ।
मन्त्रालयका अनुसार गत चैत १५ गतेयता मात्रै हटलाइन र अन्य माध्यमबाट १० हजार ३९२ भन्दा बढी गुनासोहरू प्राप्त भएका छन्।
अधिकांश गुनासोहरू विद्युत् सेवासँग सम्बन्धित छन्। विशेषगरी विद्युतीय दुर्घटना, विद्युत् लाइन अवरुद्ध, ट्रान्सफर्मर बिग्रिने, कम भोल्टेज, प्रसारण तथा वितरण लाइन चुँडिने, पोल ढल्ने वा स्थानान्तरण गर्नुपर्ने, तारमा आगलागी, मिटर तथा पोल नपाउने, मिटर रिडिङ, ईभी चार्जिङ र सिँचाइमा हुने ढिलासुस्तीका विषय प्रमुख रूपमा उठेका थिए।
मन्त्रालयको यो सक्रियतालाई मन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सञ्जिव महर्जन र स्वकीय सचिव राजा शाक्य सहितको सचिवालयले नियमित अनुगमन र समन्वय गरिरहेको छ । गुनासो दर्ता गरेर महिनौँ कुर्नुपर्ने पुरानो प्रवृत्तिको अन्त्य गर्दै तत्काल प्रतिक्रिया र प्रत्यक्ष अनुगमनको यो नयाँ अभ्यासले सार्वजनिक सेवा प्रवाहमा सुधार र सेवाग्राहीमा सरकारप्रतिको भरोसा बढाउने अपेक्षा गरिएको छ।












