काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्दा कारबाहीमा परेकाहरुलाई स्वयंसेवकका रुपमा सवारी व्यवस्थापनमा खटाउन थालिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाउने व्यक्तिहरूलाई बुधबारदेखि स्वयंसेवकको रुपमा खटाउन शुरू गरेको हो ।
मादक पदार्थ सेवन (मापसे) लगायत ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वंयसेवकको रूपमा सडकमा खटाउन थालिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
बुधबार मात्र ६०४ जनाले उपत्यकाका विभिन्न चोकमा स्वयंसेवकका रुपमा ट्राफिक व्यवस्थापन गरेका छन् ।
गणतन्त्र दिवसको अवसरमा मंगलबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जालमार्फत महिनावारीका बेला महिला ट्राफिक प्रहरीलाई सडक ड्युटीमा नखटाउने र विकल्पमा ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेकाहरूलाई सडकमा ‘ड्युटी’ गर्न लगाइने घोषणा गरेका थिए ।
गृह मन्त्रालयबाट प्राप्त निर्देशन बुधबारबाट कार्यान्वयनमा ल्याइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई सिंहदरबार गेट, माइतीघर, भद्रकाली, पुतलीसडक, पद्मोदय मोड, सातदोबाटो चोकलगायतका ठाउँमा खटाइएको कार्यालयले जानकारी दिएको छ ।