काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारका सुकुम्बासी बस्ती हटाएको सात महिना बितिसकेको छ।
तर, त्यसक्रममा विस्थापित भएका परिवारको स्थायी बसोबासको व्यवस्था भने अझै टुंगिएको छैन। घरटहरा भत्काइएपछि अस्थायी आश्रयका रूपमा होल्डिङ सेन्टरमा राखिएका परिवारलाई अहिले त्यहाँबाट समेत हट्न भनिएको छ।
भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका १९ परिवारलाई जिल्ला प्रशासन कार्यालयले शुक्रबार (मंसिर ११) दिउँसो २ बजेसम्म स्थान खाली गर्न निर्देशन दिएको छ। प्रशासनले सेन्टरमा सूचना टाँसेर तोकिएको समयभित्र बाहिरिन भनेको हो। बिहीबार प्रहरीले माइकिङ गरेर पनि शुक्रबार दिउँसो २ बजेसम्म सेन्टर खाली गर्न भनेको विस्थापित परिवारले बताएका छन्।
बोडेमा थापाथलीबाट विस्थापित भएका १९ परिवारका ५९ जना बसिरहेका छन्। उनीहरूमध्ये १७ जना बालबालिका छन्। तर, परिवारहरूका लागि वैकल्पिक आवासको व्यवस्था कहाँ र कसरी हुने भन्ने स्पष्ट टुंगो नलाग्दै आश्रयस्थल छाड्नुपर्ने अवस्था आएको छ।
होल्डिङ सेन्टरमा बस्दै आएकी गिर्वाणिका थापाले आफूहरूलाई कहाँ जाने र के खाने भन्ने अन्योल रहेको बताएकी छन्। यसअघि मौखिक रूपमा सेन्टर छाड्न भनिँदै आएकोमा अहिले लिखित सूचना नै जारी गरिएको उनको भनाइ छ।
गत वैशाख १२ गते सरकारले थापाथली, मनोहरा र सिनामंगललगायत नदी किनारका बस्तीमा डोजर चलाएको थियो। त्यसपछि विस्थापित परिवारलाई सुरुमा कीर्तिपुरमा राखिएको थियो। त्यहाँबाट विभिन्न स्थान हुँदै बोडे, खरिपाटी र इचंगुनारायणका होल्डिङ सेन्टरमा सारिएको थियो।
सरकारले त्यतिबेला १५ दिनभित्र वैकल्पिक व्यवस्था गर्ने प्रतिबद्धता जनाएको विस्थापित परिवारको भनाइ छ। तर, सात महिना बित्दासमेत उनीहरूले स्थायी आवास र जग्गाधनी पुर्जा पाउन सकेका छैनन्।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार अहिले तीनवटा होल्डिङ सेन्टरमा गरी ९६ परिवारका ३ सय ८८ जना होइन, ३ सय ८८ परिवारको विवरणमा रहेका कुल १ हजार ४ सय ८८ जना समितिको सम्पर्कमा छन्। तीमध्ये इचंगुनारायणमा ४५, खरिपाटीमा ३२ र बोडेमा १९ परिवार छन्।
यी परिवारमध्ये अधिकांशमा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दीर्घरोगी र बालबालिका छन्। पर्याप्त खाना, स्वास्थ्य उपचार र बालबालिकाको शिक्षासमेत प्रभावित भएको विस्थापित परिवारको गुनासो छ।
जग्गा देखिएका ७ परिवार, नदेखिएका १२ परिवार
बोडेमा रहेका १९ परिवारलाई हटाउन प्रशासनले दिएको सूचनामा भूमि व्यवस्थापन तथा अभिलेख विभाग र स्थानीय तहबाट प्राप्त विवरणलाई आधार बनाइएको छ।
प्रशासनका अनुसार १९ परिवारमध्ये ७ परिवारका घरमूली वा सदस्यको नाममा जग्गा देखिएको छ। भूमिसम्बन्धी ऐनका आधारमा उनीहरूलाई भूमिहीनको सूचीमा नराखिएको प्रशासनको भनाइ छ।
बाँकी १२ परिवारको नाममा जग्गा नदेखिएको र उनीहरूका लागि सम्बन्धित स्थानीय तहबाट जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको प्रशासनले जनाएको छ। ती परिवारलाई स्थानीय तहबाट प्राप्त निस्सा लिएर होल्डिङ सेन्टर छाड्न र सरकारले तोकेको घरभाडा सुविधासमेत लिन भनिएको छ।
तर, जग्गा देखिएका भनिएका ७ परिवारको हकमा तत्काल बसोबासको व्यवस्था के हुने भन्ने विषय स्पष्ट छैन। विस्थापित परिवारले भने जग्गाको अभिलेखमा नाम देखिएकै आधारमा भूमिहीनताको अवस्था निर्धारण नगर्न माग गरेका छन्। उनीहरूले प्रत्येक परिवारको वास्तविक जग्गा, आवासीय तथा आर्थिक अवस्थाको स्थलगत छानबिन गर्नुपर्ने बताएका छन्।
सरकारले के व्यवस्था गरेको थियो ?
विस्थापित परिवारको व्यवस्थापनका लागि सरकारले यसअघि आर्थिक सहायता र अस्थायी आवासको व्यवस्था गर्ने निर्णय गरेको थियो।
सरकारको निर्णयअनुसार आफैं वैकल्पिक आवासको व्यवस्था गर्न चाहने परिवारलाई घर सर्न एकमुष्ट २५ हजार रुपैयाँ र पाँच जनासम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँका दरले तीन महिनासम्म घरभाडा उपलब्ध गराउने व्यवस्था गरिएको थियो। पाँच जनाभन्दा बढी सदस्य भएको परिवारलाई थप प्रत्येक सदस्यका लागि मासिक २ हजार रुपैयाँ दिने निर्णयसमेत भएको थियो।
आफैं आवासको व्यवस्था गर्न नसक्ने ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा असहाय परिवारलाई होल्डिङ सेन्टरमै राख्ने र उनीहरूको स्वास्थ्य उपचार तथा बालबालिकाको शिक्षाको व्यवस्था गर्ने सरकारको प्रतिबद्धता थियो।
तर, विस्थापित परिवारले घोषित सहायता र पुनर्वासको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन नभएको गुनासो गर्दै आएका छन्। सरकारी निकायहरूबीच जिम्मेवारीको स्पष्टता नहुँदा पुनर्वास प्रक्रिया पनि लम्बिएको छ।
भूमिहीन परिवारको पहिचान र जग्गा उपलब्ध गराउने जिम्मेवारी भूमि समस्या समाधान समितिसहित सम्बन्धित स्थानीय तहको भएको सरकारी अधिकारीहरूको भनाइ छ। तर, पहिचान र प्रमाणीकरणको प्रक्रिया पूरा नहुँदा वास्तविक भूमिहीन परिवारको आवासको विषय अनिश्चित बनेको छ।
कांग्रेसले विस्थापित परिवारको सुरक्षित, सम्मानजनक र दिगो पुनर्वास सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या विस्थापनबाट नभई न्यायपूर्ण र दीर्घकालीन समाधानबाट सम्बोधन गर्नुपर्ने उसको धारणा छ।
यस विषयमा समन्वय र सहजीकरण गर्न कांग्रेसले केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य रहेको तीन सदस्यीय समिति पनि गठन गरेको छ।
सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानपछि वास्तविक भूमिहीनको पहिचान, जग्गा उपलब्ध गराउने प्रक्रिया र पुनर्वासको जिम्मेवारी टुंगो नलाग्दा समस्या लम्बिएको छ। अहिले प्रश्न सार्वजनिक जग्गा खाली गराउने अभियानको मात्र नभई विस्थापित नागरिकलाई स्थायी आवास उपलब्ध गराउने राज्यको जिम्मेवारीको पनि बनेको छ।












