काठमाडौं। दक्षिणकाली हुँदै हेटौंडा चल्ने यात्रुवाहक सार्वजनिक सवारीसाधनको सञ्चालन समय निर्धारण गरिएको छ।
पछिल्लो समय उक्त सडकखण्डमा दुर्घटना बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले रातिको समयमा सवारी सञ्चालनमा समयसीमा तोकेको हो।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार अब काठमाडौंको बल्खुबाट दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुवाहक सार्वजनिक सवारीसाधन राति ८ बजेसम्म फर्पिङस्थित प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ। त्यसैगरी बिहान ५ बजेपछि मात्रै बल्खुबाट उक्त रुटमा यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न पाइनेछ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सूचना जारी गर्दै यात्रुको सुरक्षालाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको जनाएको छ।
प्रशासनका अनुसार उक्त सडकखण्डमा साँघुरो सडक, भिरालो तथा घुम्ती, पर्याप्त प्रकाशको अभाव र सवारीसाधनको कमजोर यान्त्रिक अवस्थाका कारण दुर्घटनाको जोखिम बढेको छ।
त्यसैगरी चालकको लापरवाही, तीव्र गति, एउटै दिनमा धेरै पटक ओहोरदोहोर गर्नुपर्ने बाध्यता तथा अत्यधिक थकान र अनिद्राले पनि दुर्घटना निम्त्याउने गरेको प्रशासनको निष्कर्ष छ।
मादक पदार्थ तथा लागुऔषध सेवन गरेर सवारी चलाउने गरेको गुनासोसमेत प्राप्त भएको प्रशासनले जनाएको छ।
नयाँ व्यवस्थाअनुसार उक्त रुटमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधनको अवस्था पूर्ण रूपमा जाँच गरेर मात्रै सञ्चालन गर्नुपर्नेछ। काठमाडौं जिल्लाभित्र उक्त सडकखण्डमा पर्ने प्रहरी युनिट तथा ट्राफिक प्रहरीले प्रत्येक यात्रुवाहक सवारीसाधनको अनिवार्य जाँच गर्ने व्यवस्था मिलाउनुपर्ने सूचनामा उल्लेख छ।
प्रमुख जिल्ला अधिकारी राजे पौडेलद्वारा जारी सूचनामा यात्रुको जीउज्यानको सुरक्षा र सम्भावित दुर्घटना न्यूनीकरणका लागि तोकिएको समयतालिका अनिवार्य पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ।











