२४ वैशाख, काठमाडौं । इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनालाई ४-३ ले हराउँदै इन्टर समग्रमा ७-६ को जित निकाल्दै उपाधि नजिक पुगेको हो ।
खेलको २१औं मिनेटमा लाउतारो मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा हाकान कान्हानोग्लुले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे । बार्सिलोनाका लागि ५४औं मिनेटमा एरिक गार्सिया तथा ६०औं मिनेटमा डानी ओल्मोले हेडर गोल गरेपछि खेल बराबरीमा आएको थियो ।
खेलको ८७औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई जितको नजिक पुर्याए पनि इन्जुरी समयमा फ्रान्सेको असेर्बीले गोल गर्दै खेल फेरि बराबरीमा ल्याए ।
नियमित समयमा खेल ३-३ मा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । ९९औं मिनेटमा डेभिड फ्राटेसीले गोल गरेपछि इन्टरले खेलमा फेरि अग्रता लियो । त्यसपछि थप गोल नहुँदा बार्सिलोनाको यात्रा सेमिफाइनलमै टुंगिएको हो ।
इन्टरले उपाधिका लागि पिएसजी र आर्सनलबीचको विजेतासँग खेल्ने छ ।











