काठमाडौं। सन् २०२७ मा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकपमा पुग्ने बाटो तय गर्ने छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ।
यस प्रतियोगिताले विश्वकप छनोटमा पुग्ने चार टोलीको टुंगो लगाउनेछ। प्रतियोगितामा आठ टोली सहभागी हुनेछन्। पुरुष क्रिकेट विश्वकप लिग–२ मा अन्तिम स्थानमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष स्थान हासिल गर्ने दुई–दुई टोलीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोलीले सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने ५० ओभरको आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन्।
क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिअनुसार नेपालले आयोजना गर्ने प्रतियोगिता विश्वकपसम्म पुग्ने प्रतिस्पर्धामा सहभागी टोलीका लागि महत्त्वपूर्ण हुनेछ।
इन्डिया ‘ए’सँगको शृंखलाको तालिका फेरिने
विश्वकप छनोट प्लेअफ नेपालमा आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ बीचको निर्धारित क्रिकेट शृंखलाको तालिका पनि परिवर्तन हुने भएको छ।
यसअघि डिसेम्बर ९, ११ र १३ मा नेपाल र भारत ‘ए’ बीच खेल हुने तय भएको थियो। तर, ती मितिमा छनोट प्लेअफ प्रतियोगिता सञ्चालन हुने भएपछि शृंखलाको पुरानो तालिका प्रभावित भएको हो।
क्यानका अनुसार नेपाल र भारत ‘ए’ बीचको शृंखलाको नयाँ तालिका भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) र नेपाल क्रिकेट संघबीचको आपसी समन्वय तथा सहमतिमा तय गरिनेछ। नयाँ तालिका सार्वजनिक भएपछि मात्रै शृंखला कहिले सञ्चालन हुने भन्ने स्पष्ट हुनेछ।
यससँगै नेपालमा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालनको तयारी र नेपाल–भारत ‘ए’ शृंखलाको नयाँ मिति निर्धारण दुवै विषय क्यानको प्राथमिकतामा रहने भएका छन्।










