काठमाडौं। प्रहरी निरीक्षक हुँ भन्दै मुद्दाबाट छुटाइदिने प्रलोभन देखाएर दुई लाख रुपैयाँ माग गरेको आरोपमा काठमाडौंमा पाँच जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूले एक व्यक्तिलाई प्रहरी प्रभाग काँडाघारीमा सोधपुछका लागि बोलाइएको अवस्थामा उनका आफन्तलाई प्रहरी निरीक्षक भएको बताउँदै रकम माग गरेका थिए।
प्रहरीका अनुसार मंसिर १० गते दिउँसो करिब २ बजे एक व्यक्तिलाई प्रहरी प्रभाग काँडाघारीमा सोधपुछका लागि बोलाइएको थियो। त्यसपछि उनका भाइ भेट्न जाँदा उक्त क्षेत्रमा रहेका केही व्यक्तिले आफू प्रहरी निरीक्षक भएको परिचय दिएका थिए।
उनीहरूले पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाई छुटाइदिने भन्दै उनका आफन्तसँग दुई लाख रुपैयाँको व्यवस्था गर्न भनेका थिए। साथै, होटलको खर्चसमेत तिर्न लगाएको प्रहरीको भनाइ छ।
माग गरेअनुसारको रकम दिन अस्वीकार गरेपछि उनीहरूले फोन र म्यासेजमार्फत विभिन्न किसिमका धम्की दिएको र त्यसबाट पीडितलाई मानसिक तथा आर्थिक तनाव भएको सूचना प्रहरीसम्म पुगेको थियो।
सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९, वीरेन्द्र चोकबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ओखलढुंगाको मोलुङ गाउँपालिका–२ घर भई काठमाडौंको चाबहिल बस्ने ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापको लिखु गाउँपालिका–१ घर भई कपन बस्ने २९ वर्षीय इन्द्रबहादुर भुजेल, पाल्पाको तानसेन नगरपालिका–६ घर भई हात्तीगौंडा बस्ने ३३ वर्षीय धिरज रानाभाट, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ घर भई भक्तपुरको दुवाकोट बस्ने २५ वर्षीय खेलबहादुर मगर र सिन्धुलीको मरिण गाउँपालिका–२ घर भई बनेपा बस्ने ३० वर्षीय हर्क सिंह भोलन छन्।
उनीहरूलाई अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले चार दिनको म्याद थप गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।












