काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका अधिकांश खेल मुख्य आयोजक स्थल सुर्खेतमै सञ्चालन हुने भएका छन्। कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमा, पाँच खेल कर्णालीका अन्य जिल्लामा र चार खेल छिमेकी लुम्बिनी प्रदेशमा आयोजना गर्ने तय भएको छ।
कर्णाली प्रदेशको भौगोलिक विकटता र खेल पूर्वाधारको सीमितताका कारण प्रतियोगिताका खेल विभिन्न जिल्लामा बाँड्नुपरेको हो। केही खेल सञ्चालनका लागि आवश्यक पूर्वाधार कर्णालीमै उपलब्ध नभएपछि लुम्बिनी प्रदेशका बाँके र बर्दियालाई समेत प्रतियोगितास्थल बनाइएको छ।
प्रतियोगिताको प्राविधिक समितिबाट अनुमोदित तालिकाअनुसार औपचारिक उद्घाटन आगामी मंसिर १६ गते सुर्खेत रंगशालामा हुनेछ। मंसिर २७ गते समापन गर्ने कार्यक्रम तय गरिएको छ।
तर प्रतियोगिताका सबै खेल उद्घाटनपछि मात्रै सुरु हुने छैनन्। पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीसहितका प्रतिस्पर्धा मंसिर ८ गतेदेखि नै सुरु हुनेछन्। अन्य खेल पनि निर्धारित तालिकाअनुसार क्रमशः सञ्चालन गरिनेछन्।
सुर्खेतमा २३ खेल
मुख्य आयोजक स्थल सुर्खेतमा प्रतियोगिताका अधिकांश खेल सञ्चालन हुनेछन्। यहाँ एथ्लेटिक्स, पुरुष फुटबल, क्रिकेट, भलिबल, हक्की, रग्बी र साइक्लिङजस्ता मैदानी खेल आयोजना गरिनेछ।
त्यस्तै, कराते, तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, उसु र बक्सिङजस्ता मार्सल आर्ट्सका खेल पनि सुर्खेतमै हुनेछन्।
ब्याडमिन्टन, टेबल टेनिस, जिम्न्यास्टिक, ह्यान्डबल, स्क्वास र बास्केटबलका प्रतिस्पर्धा पनि यहीँ सञ्चालन हुनेछन्। यसबाहेक कबड्डी, आर्चरी, भारोत्तोलन, ई-स्पोर्ट्स र सेपाकताक्रो गरी कुल २३ खेल सुर्खेतमा हुनेछन्।
कर्णालीका चार जिल्लामा पाँच खेल
सुर्खेतबाहेक कर्णाली प्रदेशका अन्य चार जिल्लामा पाँच खेल आयोजना गर्ने व्यवस्था मिलाइएको छ।
दैलेखमा आईटीएफ तेक्वान्दो, कालिकोटमा बुद्धिचाल, सल्यानमा जुडो र कुस्ती तथा पश्चिम रुकुममा शारीरिक सुगठन प्रतियोगिता सञ्चालन हुनेछन्।
भौगोलिक अवस्था र उपलब्ध खेल पूर्वाधारलाई आधार बनाएर यी जिल्लामा खेल विभाजन गरिएको हो।
चार खेल लुम्बिनीमा
कर्णाली प्रदेशमा आवश्यक खेल पूर्वाधार उपलब्ध नहुँदा चार खेल लुम्बिनी प्रदेशमा सञ्चालन गर्नुपर्ने भएको छ।
यसअनुसार पौडी र सुटिङका खेल बाँकेको नेपालगञ्जमा आयोजना हुनेछन्। त्यस्तै, टेनिस र खो–खोका प्रतिस्पर्धा बर्दियामा सञ्चालन गरिनेछ।
आयोजक प्रदेश कर्णाली भए पनि खेल पूर्वाधारको अभावले प्रतियोगिताका केही प्रतिस्पर्धा अर्को प्रदेशमा सञ्चालन गर्नुपर्ने अवस्था आएको हो।










