काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले ओमानमाथि ११३ रनको सानदार जित निकालेको छ। मंगलबार सम्पन्न खेलमा नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ३९.६ ओभरमा १५० रनमा समेटियो।
नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनाएको थियो। नेपालको जितमा कप्तान रोहित पौडेलको अर्धशतक र करण केसीको आक्रामक ब्याटिङसँगै बलरहरूको प्रदर्शन निर्णायक बन्यो।
नेपालका लागि रोहितले ६१ रन बनाए। ओपनर अर्जुन कुमालले ४०, ईशान पाण्डेले ३७ र बसिर अहमदले पनि ३७ रन जोडे। दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए।
अन्तिमतिर आक्रामक ब्याटिङ गरेका करण केसीले मात्र १६ बलमा ४ छक्का र एक चौकासहित ४० रन बनाए। सन्दीप जोराले १०, नन्दन यादवले ७ र ओपनर आसिफ शेखले ४ रन जोडे।
ओमानका शाह फैजल, शकिल अहमद र करण सोनावाले समान २ विकेट लिए भने हसनेन शाहले एक विकेट हात पारे।
२६४ रनको लक्ष्य पछ्याएको ओमानका लागि कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए। जय ओडेड्राले २५ र जतिन्दर सिंहले १८ रन जोडे पनि अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।
ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका नन्दन यादव र सन्दीप लामिछानेले समान ३ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र ललित राजवंशीले समान एक विकेट हात पारे।
अंक तालिकामा नेपाल छैटौँ
जितसँगै नेपालले लिग–२ मा ३४ खेलबाट २८ अंक जोडेको छ। नेपालले प्रतियोगितामा १३ जित र १९ हार बेहोरेको छ। नेपाल अंक तालिकाको छैटौँ स्थानमा छ।
ओमान भने ३० खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ। ओमानले १५ खेल जित्दा १२ खेलमा हार बेहोरेको छ।
नेपालका लागि यो जित अंक तालिकामा आफ्नो स्थिति सुधार गर्ने प्रयासका दृष्टिले महत्त्वपूर्ण बनेको छ।











