काठमाडाैं।भक्तपुरका एक उपभोक्ताले ३०० रुपैयाँको चिउरा खरिद गर्दा १० लाख रुपैयाँ नगद पुरस्कार जितेका छन्।
आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत सूर्यविनायक निवासी राम श्रेष्ठ बम्पर पुरस्कारका लागि छनोट भएका हुन्।
श्रेष्ठले कात्तिक १६ देखि ३० गतेसम्मको अवधिमा स्थानीय पसलबाट ३०० रुपैयाँको चिउरा खरिद गरी विद्युतीय बिल लिएका थिए। सोही बिलका आधारमा गरिएको गोलाप्रथाबाट उनी १० लाख रुपैयाँ पुरस्कारका लागि छनोट भएको विभागले जनाएको छ।
उपभोक्तालाई आधिकारिक बिल लिन प्रोत्साहित गर्ने र व्यवसायिक कारोबारलाई पारदर्शी बनाउने उद्देश्यले विभागले यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ।
विभागले सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा आधिकारिक भ्याट वा प्यान बिल लिन उपभोक्तालाई आग्रह गरेको छ।












