काठमाडाैं। प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालयको कार्यशैली चुस्त बनाउने उद्देश्यसहित सचिवालयका सदस्यहरूको जिम्मेवारी हेरफेर गरेका छन्। कार्यसम्पादनको समीक्षा गरेपछि प्रधानमन्त्रीले केही सदस्यलाई नयाँ जिम्मेवारी दिएका छन् भने केहीलाई सचिवालयबाटै हटाएका छन्।
आइतबारदेखि लागू हुने गरी गरिएको हेरफेरमा विज्ञका रूपमा नियुक्त भएका केही सदस्यलाई संयोजक र सहसंयोजकको जिम्मेवारी दिइएको छ। कार्यसम्पादनमा राम्रो देखिएकालाई बढुवा र अपेक्षित नतिजा दिन नसकेकाहरूको जिम्मेवारी परिवर्तन गरिएको प्रधानमन्त्रीको सल्लाहकार टिमका एक सदस्यले बताए।
यसक्रममा माधव खनाललाई प्रधानमन्त्रीको सचिवालयबाट हटाइएको छ। त्यस्तै, सञ्जिव पाण्डे, दीपा दाहाल र विश्व राईको जिम्मेवारी परिवर्तन गरिएको छ।
इन्जिनियर सञ्जिव पाण्डेलाई विकास तथा मन्त्रालयगत समन्वय संयोजकको जिम्मेवारी दिइएको छ। यसअघि प्रेस तथा अनुसन्धान विज्ञका रूपमा नियुक्त दीपा दाहाललाई मिडिया व्यवस्थापन संयोजक बनाइएको छ। विश्व राईलाई सामाजिक विकास समन्वय संयोजकको जिम्मेवारी दिइएको छ।
उनीहरू तीनै जना यसअघि प्रधानमन्त्रीको सचिवालयमा विज्ञका रूपमा नियुक्त भएका थिए। आइतबारदेखि भने उनीहरूको पद र जिम्मेवारी परिवर्तन गरिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा समेत नयाँ जिम्मेवारी अद्यावधिक गरिएको छ।
प्रधानमन्त्री शाहले सचिवालयको तल्लो तहमा जिम्मेवारी हेरफेर गरे पनि मुख्य सल्लाहकार र स्वकीय सचिवालयको संरचनामा भने परिवर्तन गरेका छैनन्।
प्रधानमन्त्रीका पाँच जना सल्लाहकार यथावत् छन्। मुख्य सल्लाहकारमा कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकारमा असिम शाह, स्वास्थ्य सल्लाहकारमा प्रा. डा. जगदिशप्रसाद अग्रवाल, नीति, प्रशासन तथा सुशासन सल्लाहकारमा सुदीप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकारमा विवेक मिश्र कायम छन्।
त्यस्तै, प्रमुख स्वकीय सचिव सुवास शर्मा र स्वकीय सचिव नवीन भण्डारीको जिम्मेवारी पनि यथावत् राखिएको छ।












