काठमाडौं। तिहारको पाँच दिन बिदापछि शुक्रबार खुलेका सरकारी कार्यालय फेरि लगातार तीन दिन बन्द हुने भएका छन्।
तिहार बिदा सकिएर शुक्रबारदेखि नियमित कामकाज सुरु भए पनि शनिबार र आइतबारको नियमित सार्वजनिक बिदा तथा सोमबार छठ पर्वको सार्वजनिक बिदाका कारण सरकारी कार्यालय तीन दिन बन्द हुने भएका हुन्।
तिहारका अवसरमा सरकारले दिएको बिदा सकिएपछि शुक्रबार कर्मचारी कार्यालय फर्किएका छन्। तर, कार्यालय खुलेको एक दिनपछि नै पुनः बिदा सुरु हुने भएपछि सरकारी सेवा लिनुपर्ने सेवाग्राहीले भने थप कुर्नुपर्ने अवस्था बनेको छ।
शनिबार र आइतबार साप्ताहिक बिदा भएकाले सरकारी कार्यालय नियमित रूपमा बन्द रहन्छन्। त्यसमा सोमबार छठ पर्वको सार्वजनिक बिदा थपिएपछि सरकारी सेवा प्रवाह मंगलबारबाट मात्रै नियमित लयमा फर्किनेछ।
यसरी तिहारपछि शुक्रबार एक दिन मात्रै कार्यालय सञ्चालन भएर पुनः तीन दिन बन्द हुने अवस्थाले सरकारी कामकाजको निरन्तरतामा प्रश्न उठाएको छ।
तिहारका लागि कात्तिक २२ देखि २६ गतेसम्म पाँच दिन सार्वजनिक बिदा दिइएको थियो। यसबीच शनिबारको नियमित बिदासमेत परेकाले कार्यालयहरू लगातार छ दिन बन्द भएका थिए। बिहीबारसम्म बिदा रहेकाले शुक्रबार मात्रै कार्यालय खुलेका हुन्।
तर, शुक्रबार कार्यालय खुले पनि सेवाग्राहीले नियमित सेवा लिन मंगलबारसम्म कुर्नुपर्ने भएको छ। लगातार बिदा हुँदा नागरिकता, राहदानी, जग्गा प्रशासन, मालपोत, नापी, कर तथा अन्य प्रशासनिक कामका लागि कार्यालय पुग्ने सेवाग्राही प्रभावित हुन सक्छन्।
विशेषगरी टाढाबाट सरकारी सेवा लिन आउने नागरिकका लागि यस्तो बिदाले समय र खर्च दुवै बढाउँछ। एक दिन कार्यालय खुलेर पुनः तीन दिन बन्द हुँदा कामको चाप व्यवस्थापनमा समेत समस्या हुने देखिएकाे छ।








