काठमाडौँ। शनिबार रातिको पानीले काठमाडौँ महानगरपालिका- ३ सामाखुशी खोला चिरायु अस्पताल र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नजिक पर्खाल भत्काएपछि ८ वटा घर जोखिममा परे।
यी घरलाई जोखिममुक्त बनाउन आइतबार महानगर प्रहरी बलबाट नगर प्रहरी नायव उपरीक्षक लीलाराज गाछा र ध्रुवकुमार भुजेल नेतृत्वमा ६० जना जनशक्ति परिचालन गरियो। टोलीले जोखिमयुक्त स्थानलाई जोखिममुक्त बनाएको छ।
कल्भर्टबाट आएको वेग गतिको पानीले खोलाको पर्खाल भत्काएको देखिन्छ। प्रतिकार्यमा रहेका गाछाले भने, ‘भत्किएको ठाउँलाई तत्काल पुनःस्थापना नगरे ८ वटा घर जोखिममा देखिए। ती घरको सम्भावित जोखिम टार्न हामीले बालुवा भरिएका करिब २ सय बोरा चाङ लगाएर जोखिम घटाएका छौँ।’ यस कार्यमा नगर प्रहरी बलसँगै ढल मंगाल सफाइ गर्ने जनशक्ति परिचालन गरिएको थियो।
महानगरपालिकाले विपद व्यवस्थापन विभाग र महानगर प्रहरी बल सम्मिलित क्यूआरटी (क्वीक रेस्पोन्स टीम)गठन गरेको छ। प्रतिकार्य योजनाका विषयमा जानकारी दिँदै विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले भने, ‘वडा स्तरीय समितिलाई सक्रिय बनाइएको छ।
विपद व्यवस्थापन विभाग, महानगर प्रहरी बल, स्वास्थ्य विभाग, सार्वजनिक निर्माण विभाग, सूचना प्रविधि विभाग, शिक्षा, वातावरण व्यवस्थापन विभाग जस्ता तत्काल फिल्डमा खटिनु पर्ने विभागहरुलाई तयारी राखिएको छ। यस्तै खोज उद्धारका सामानहरु तैनाथ गरिएको छ।’
यस वर्ष गणतन्त्र पार्क, जय नेपाल हल, जमल लगायत क्षेत्रमा सडक डुवान भएकोले खोल्ने काम भएको छ। नगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार डुबानका २ वटा कारण देखिएका छन्।
एउटा कारण ढल निकासको क्षमता कमजोर हुनु हो। अर्को भनेको बर्खाको पानीले प्लाष्टिक, बालुवा, माटो बगाएर ल्याएपछि फेरि जाम हुनु हो। हामीले सम्भावित डुवान क्षेत्रमा भएका मंगाल चिन्न संकेत चिन्ह राखेका छौँ। महानगर प्रहरी बलका चार वटै क्षेत्रबाट आफ्नो क्षेत्रमा डुवान हुँदा चिन्ह हेरेर तत्काल खोल्ने काम हुँदै आएको छ। कुनै ठाउँमा डुवान भए आधा घण्टाभित्र पानीको पूरै निकास हुने गरेको छ।












