काठमाडौं। डोल्पाको जगदुल्ला गाउँपालिकामा–५ गैरीगाउँस्थित धुलाखोलामाआएको लेदोसहितको बाढी घरभित्र पस्दा एक महिलाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्।
आइतबार बिहान करिब ३ बजेतिर धुलाखोलामा आएको बाढी स्थानीय बस्तीमा पसेको हो। बाढीले घर पुरिँदा घरभित्र सुतिरहेकी स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दा विकको ज्यान गएको छ।
बाढीमा पुरिएकी विकलाई प्रहरी र स्थानीयवासीको सक्रियतामा उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याँकोट लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले बताए।
बाढीमा परी स्थानीय ६० वर्षीया जस विक, ४४ वर्षीया रेउली विक, १५ वर्षीया निरुता विक र १३ वर्षीया सिता विक घाइते भएका छन्। घाइतेमध्ये ४४ वर्षीया रेउली विकको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि जिल्लाबाहिर रिफर गरिएको डिएसपी गिरीले बताए। अन्य घाइतेहरू भने स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि डिस्चार्ज भइसकेका छन्।
यस्तै, घटनापछि मृतकका आफन्त ३२ वर्षीया जुनमाया विक र २९ वर्षीय दुर्गे विक बेहोस भएका छन्। उनीहरूको हाल स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक विवरणअनुसार बाढीका कारण गैरीगाउँमा एक घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने अन्य आठ वटा घरमा आंशिक क्षति पुगेको छ।
घटनालगत्तै उद्धार तथा राहतका लागि प्रहरी चौकी माझगाउँ, जिल्ला प्रहरी कार्यालय डोल्पा, इलाका प्रहरी कार्यालय काइगाउँ, अस्थायी प्रहरी पोष्ट हुरीकोट र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली घटनास्थलमा परिचालन गरिएको छ। सुरक्षा निकाय र स्थानीयको टोलीले बाढीबाट भएको थप क्षतिको विवरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।












