सर्लाही। सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय सरकारी कागजपत्र किर्ते गरेको आरोपमा पक्राउ परेका छन्।
५५ वर्षीय रायलाई प्रहरीले बुधबार अपराह्न ५ बजेतिर बसबरिया गाउँपालिका–१ स्थित आफ्नै निवासबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गर्ने क्रममा वडा सदस्यको हस्ताक्षर किर्ते गरेको आरोप उनीमाथि छ।
२०८० असार १० गते गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्न गाउँसभा बोलाइएको थियो। उक्त सभामा अनुपस्थित रहेकी एक वडा सदस्यको हस्ताक्षर किर्ते गरेर नीति तथा कार्यक्रम पारित गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो।
उक्त उजुरीका आधारमा प्रहरीले सरकारी कागज किर्तेसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानकै क्रममा सर्लाही जिल्ला अदालतबाट २०८३ असोज १६ गते पक्राउ अनुमति प्राप्त भएपछि रायलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका गाउँपालिका अध्यक्ष रायमाथि सरकारी कागज किर्तेसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।












