काठमाडौं। तराई/मधेस द्रुतमार्गअन्तर्गत निर्माणाधीन सबैभन्दा लामो महादेवटार सुरुङको दुवै ट्युब ब्रेकथ्रु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ३ हजार ४५५ मिटर लामो सुरुङको दायाँ ट्युब ब्रेकथ्रु गरेका हुन्।
यसअघि गत भदौमा सुरुङको बायाँ ट्युब छिचोलिएको थियो। दायाँ ट्युबको ब्रेकथ्रुसँगै आयोजनाको सबैभन्दा लामो सुरुङ खन्ने काम सम्पन्न भएको नेपाली सेनाले जनाएको छ।
द्रुतमार्गमा ११.२ किलोमिटर लम्बाइका सातवटा सुरुङ निर्माण भइरहेका छन्। महादेवटारसहित धेद्रे र लेनडाँडा सुरुङ पनि ब्रेकथ्रु भइसकेका छन्। अब चन्द्राम भीर, देवीचौर, सिसौटार र मौरीभीर सुरुङ छिचोल्न बाँकी छ। मौरीभीर सुरुङको ठेक्का अझै लाग्न सकेको छैन।
नेपाली सेनाका अनुसार २०८३ भदौ मसान्तसम्म आयोजनाको भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ५१.४७ प्रतिशत पुगेको छ।
सरकारले २०७४ वैशाख २१ गते चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी आयोजनाको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो। तर, निर्धारित समयमा काम पूरा हुन नसकेपछि गत साउन २० गतेको मन्त्रिपरिषद् बैठकले निर्माण अवधि तीन वर्ष थप गरी २०८६ चैतसम्म पुर्याएको छ।
करिब ७१ किलोमिटर लामो द्रुतमार्ग निर्माण सम्पन्न भएपछि काठमाडौं र तराई/मधेसबीचको यात्रा दूरी तथा समय घट्ने र ढुवानी लागतमा समेत कमी आउने अपेक्षा गरिएको छ।












