काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक नेतृत्वलाई पक्राउ गर्ने धम्की दिएको भन्दै सरकार र प्रहरी नेतृत्वप्रति आक्रोश व्यक्त गरेका छन्। उनले आफू, नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई पक्राउ गर्ने चेतावनी दिएको भन्दै प्रहरी महानिरीक्षक (आईजीपी) को अभिव्यक्तिमाथि प्रश्न उठाएका हुन्।
बुधबार काठमाडाैंमा सुरू भएकाे पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले गृहमन्त्री सुदन गुरुङले फाइल खोल्ने र १०१ जनालाई पक्राउ गर्ने बताएको प्रसंगसमेत उठाए। उनले कसैलाई पक्राउ गर्नुअघि प्रमाण आवश्यक पर्ने भन्दै सरकारको यस्तो अभिव्यक्तिले राजनीतिक त्रास सिर्जना गर्न खोजेको आरोप लगाए।
‘म केपी ओलीलाई थुन्दिन्छु, म शेरबहादुरलाई थुन्दिन्छु, म प्रचण्डलाई थुन्दिन्छु। केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् इनका? थुन्दिन्छु रे?’ ओलीले भने।
उनले प्रहरी प्रमुखले राजनीतिक दलका शीर्ष नेताहरूलाई पक्राउ गर्ने अभिव्यक्ति दिनु उपयुक्त नभएको बताए। आईजीपीको अभिव्यक्ति जिम्मेवार पदअनुसारको हुनुपर्ने उनको भनाइ थियो।
ओलीले आफूहरू राणाशासन, पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रविरुद्ध संघर्ष गरेर आएको राजनीतिक नेतृत्व भएको भन्दै पक्राउको धम्कीबाट नडराउने बताए।
‘हामी राणाशासनका विरुद्ध लडेर आएका हौँ, पञ्चायती शासनका विरुद्ध लडेर आएका हौँ, निरंकुश राजतन्त्रका विरुद्ध लडेर आएका हौँ। अनि ६ महिनेको जागिर खाने एउटा सिपाहीले भन्छ फलानालाई थुन्दिन्छु। ठट्टा मजाक गरेको हो?’ उनले प्रश्न गरे।
यद्यपि, कसैले अपराध गरेको प्रमाण भेटिए कानुनी कारबाही गर्न आफूहरूको आपत्ति नरहेको उनले स्पष्ट पारे। प्रमाणका आधारमा आफू पनि कारबाहीको भागीदार हुन सक्ने भन्दै पक्राउको धम्की दिनुको सट्टा कानुनी प्रक्रिया अपनाउन उनले चुनौती दिए।
गृहमन्त्रीले १०१ जनालाई पक्राउ गर्ने बताएको प्रसंगमा ओलीले सबैलाई थुन्ने हो भने सरकारका जिम्मेवार व्यक्ति पनि त्यसबाट अछुतो नरहने टिप्पणी गरे।
‘सबै थुनिन्छन् भने उनी र को बाँच्छन् त नेपालमा?’ ओलीले भने।
उनले गृहमन्त्री गुरुङविरुद्ध पनि विभिन्न प्रमाण रहेको दाबी गर्दै एमाले कसैको आतंक र धम्कीबाट नडराउने बताए।
एमालेले मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेको छ। भेलामा केन्द्रीय कमिटीदेखि प्रदेश, जिल्ला र पालिका तहका पदाधिकारी तथा प्रतिनिधि सहभागी छन्।
त्यस्तै संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, जिल्ला समन्वय समितिका पदाधिकारी, जनसंगठनका प्रतिनिधि र विभिन्न उपसमितिका सदस्यको पनि सहभागिता छ। पार्टीका विभिन्न तह र संसदीय क्षेत्रको प्रतिनिधित्व रहने गरी भेला आयोजना गरिएको एमालेले जनाएको छ।












