सुर्खेत। नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले समयअगावै गरिएको अनावश्यक विशेष महाधिवेशनकै कारण पार्टी प्रतिनिधि सभा निर्वाचनमा ३८ सिटमा खुम्चिनु परेको दाबी गरेका छन्।
कांग्रेस कर्णाली प्रदेश समितिले सुर्खेतमा आयोजना गरेको ‘पार्टीको बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक दुई दिने विचार गोष्ठीको पहिलो दिन सम्बोधन गर्दै नेता खड्काले यस्तो गम्भीर आत्मसमीक्षा गरेका हुन्। झण्डै एक घण्टा लामो मन्तव्यका क्रममा उनले पार्टीको आन्तरिक कमजोरीकै कारण राष्ट्रिय राजनीतिमा रास्वपाको अप्रत्याशित उदय भएको दाबी गरे।
‘विशेष महाधिवेशन नभएको भए राजनीति अर्कै हुन्थ्यो’
नेता खड्काले कांग्रेसको आन्तरिक रणनीति फेल नखाएको भए देशको राजनीतिक परिदृश्य नै फरक हुने उल्लेख गरे। ‘विशेष महाधिवेशन नभएको भए रास्वपा धेरैमा ७०-८० सिटसहित पहिलो पार्टी हुन्थ्यो, तर दुई तिहाइ नजिक पुग्ने थिएन,’ खड्काले भने, ‘त्यस्तो अवस्थामा नेपाली कांग्रेस ६०-६५, नेकपा एमाले ३०-३५ र माओवादी १५-२० सिटमा हुन्थे। तर हाम्रै गल्तीका कारण कांग्रेस ३८ सिटमा सीमित भयो।’
नेतृत्वको अहंकारले पार्टी विभाजनको सँघारमा
पार्टी एकताका लागि आयोजित गोष्ठीमै पूर्वकार्यवाहक सभापति खड्काले वर्तमान पार्टी नेतृत्वमाथि चर्को प्रहार गरे। नेतृत्व तहमा अहङ्कार, व्यक्तिगत स्वार्थ, पारिवारिक मोह र धनको आशक्ति मौलाएका कारण गौरवशाली इतिहास बोकेको कांग्रेस अहिले विभाजनको सँघारमा पुगेको उनको गम्भीर आरोप थियो।
‘नेतृत्वको व्यक्तिगत आडम्बर र नातागोताको सम्बन्धले सङ्गठनलाई ठुलो क्षति पुर्याएको छ,’ खड्काले थपे, ‘मैले पार्टी सभापति र उपसभापतिलाई भेटेरै पार्टीलाई विभाजनको बाटोमा नलैजान सुझाव दिइसकेको छु। अब नेताहरू यी सबै स्वार्थभन्दा माथि उठेर कार्यकर्तामाझ जानुपर्छ।’












