नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क आजदेखि लागू हुने घोषणा गरेका छन्। यससँगै भारतमाथि अमेरिकी लगाएको कुल कर ५० प्रतिशत पुगेको छ।
विशेषगरी यस कदमको सबैभन्दा ठूलो प्रभाव कपडा क्षेत्रमा पर्ने अनुमान गरिएको छ। तिरुपुर, नोएडा र सुरतका प्रमुख कपडा उत्पादन केन्द्रहरूमा उत्पादन रोकिएको रिपोर्ट गरिएको छ। भारतीय निर्यात संगठनहरूको महासंघका अध्यक्ष एससी रहानका अनुसार, “बढ्दो लागत र प्रतिस्पर्धाको दबाबका कारण कपडा उत्पादकहरूले उत्पादन बन्द गरेका छन्। भियतनाम र बंगलादेशका कम लागतका प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्न कठिन भइरहेको छ।”
अमेरिकाले भारतमाथि शृङ्खलाबद्ध रुपमा भन्सार शुल्क लगाउँदै आएको छ। सन् २०२५ अप्रिलमा ट्रम्पले २६ प्रतिशत कर लगाउने घोषणा गरेका थिए, तर ९० दिनका लागि स्थगन गरिएको थियो। जुलाई २०२५ मा २५ प्रतिशत शुल्क लागु भएको थियो र अगस्टमा थप २५ प्रतिशत शुल्क थपिएपछि कुल कर दर ५० प्रतिशत पुगेको हो।
अमेरिकाको यो कदम भारतले युक्रेनसँगको युद्धमा रुसबाट कच्चा तेल खरिद गरेको निर्णयसँग सम्बन्धित छ। ट्रम्प प्रशासनले रुसबाट तेल नकिन्न दबाब दिँदै आएको थियो।
अर्थतन्त्रमा यसको प्रभाव देखिन थालेको छ। ५० प्रतिशत भन्सार महसुलका कारण अमेरिकामा हुने भारतीय निर्यात घट्नेछ र यसले सरकारको आम्दानी तथा जीडीपी वृद्धि ०.२–०.६ प्रतिशतसम्म प्रभावित हुन सक्नेछ।
अन्तर्राष्ट्रिय व्यापारमा, भारतले अमेरिकामाथिको निर्भरता कम गर्दै चीन, मध्य पूर्व र अफ्रिका लगायत ५० भन्दा बढी देशमा नयाँ निर्यात रणनीति तयार गरेको छ।












