रुपा थापा
प्लास्टिकको शृङ्गारले
कुनै बेहुलीझै सजिएको यो सहरमा
जब कुनै कालिगडले बनाइदियो
पलास्टिककै मूर्ती ।
लाग्छ यो सहर चुप चाप प्लास्टिक निलिरहेछ
या यस्तो लाग्छ यो सहरलाई
चुप चाप कुनै अदृश्य शक्तिले निल्दैछ।
यो प्लास्टिकको शहरमा
पलास्टिकै बगैचा अनि
प्लास्टिककै फोक्सो बनाएर
खुब उत्सव मनाउदै थियो यन्त्र मानव
तर श्वास फेर्न नसके पछि
आज ती मेसिनहरू
जीर्ण भएर किन भर्ना भएका छन
अस्पतालको सघन हेरचाह एकाइ कक्षमा।
प्लास्टिकको घोडा दौडदैन
प्लास्टिकको मयुर नाच्दैनौ
प्लास्टिकको मृग उफ्रेर भाग्दैन
प्लास्टिकको बाघ कुनै शिकार गर्दैन।
ति यन्त्र मानवहरुले रोपेका
प्लास्टिकका वृक्षमा
कुनै फल फल्दैन
यति शान्त छ प्लास्टिकको बादर
ऊ कुनै चकचक गर्दैन
देख्छु क्षितिजमा प्लास्टिककै बादल छ
तर कुनै वर्षा हुदैन ।
प्लास्टिककै समुन्द्रमा तैरिरहेका
ती प्लास्टिकका माछाहरू
कत्ति शान्त छन
तर मलाई यस्तो शान्तिमा पनि
किन किन चिच्याउन मन छ
साँच्चिकै भ्यागुताहरू पानीमा उफ्रेको हेर्न मन छ
कति शान्त छन प्लास्टिकका पुतलीहरू
यस्तो बेलामा मलाई
केटा केटीहरू उफ्रिएको हेर्न मन छ ।
ओ जादुगर
ब्युझाइदेउन तिनीहरूलाई लामो निद्राबाट
हेर त प्लास्टिकको यो डुङ्गा कति शान्त छ
जसरी प्लास्टिकको यो नदिमा
कुनै हलचल छैन
यस्तोमा मलाई नदीको धारसँगै बगेर
कहि कतै पुग्नु छ।
ओ प्लास्टिकको रोटी चपाइरहेका यन्त्र मानवहरु
के तिमी यस्तै पृथ्वी सुम्पन चाहन्छौ
तिम्रा आँखालाई?












