रुपा थापा
मालिकले अन्तिम पल्ट धाप मार्दै भन्यो
अब तिमीले जानुछ।
मालिक लामखुट्टेले चुसेर
रित्तिएका जवान रक्तसँगै
ती वृद्ध घोडाका टापलाई
भोलि फेरि बिहानै
एउटा अनिश्चित गन्तव्यमा निक्लनुछ
थाहा छैन कहाँ?
मेसिनको कर्कश ध्वनीसँगै
भरिएका छन विषाक्त हावा
सयैा तल्लामा झुन्डिरहेका सपनासँगै
पुँजीपति र सर्वहारावर्ग बिच
ठिङ्ग उभिएको छ ग्रेटवाल र
सगरमाथाको शिरको बाटैमा पर्ने
खुम्बु आइसफल क्षेत्रमा बढिरहेको
चट्टानी बर्फको दरार झै
झन झन किन बढिरहेछ
एउटा मजदुर र मालिकबीचको दूरी ।
पूँजीपतिहरूले निर्माण गरेका
अर्थतन्त्रको यो लौराे
आखिर कहिले सम्म बज्रिरह्नछ एकनासले
एउटा श्रमजीवी वर्गकाे मेरूदण्डमा ?