काठमाडौं। निर्वाचन सम्पन्न भएको दुई महिना बितिसक्दा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छैन।
फागुन २१ को चुनावी नतिजाले खुम्चिएको कांग्रेस अहिले नीति र मुद्दाभन्दा पनि आन्तरिक भागबण्डा र ‘इगो’को बन्धक बनेको छ। जसकारण कांग्रेसले संसदीय दलको नेताका लागि चुनावी कार्यक्रम सार्वजनिक गर्दा पनि अघि बढ्न सकेको छैन। अहिले कांग्रेसमा संसदीय दल नेताका लागि तीन जना रसुवाबाट निर्वाचित मोहन आचार्य तथा समानुपातिक सांसदद्वय भीष्मराज आङ्देम्बे र अर्जुननरसिंह केसी दाबेदार छन्। केसीको सम्भावना कमजोर छ।
तर, खास प्रतिस्पर्धा केसी र आङ्देम्बेको छ । आचार्यलाई सभापति गगन थापाले अघि सारेका हुन् भने आङ्देम्बेलाई उपसभापति विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइराला र निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको समर्थन देखिन्छ।
कांग्रेसले दलको नेता चयन गर्न गत शुक्रबारका लागि निर्वाचन तालिका सार्वजनिक गरेको थियो। तर, अन्तिम समयमा आएर स्थगन गरिएको थियो।
उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित कार्यदलले वैशाख ११ गतेको निर्वाचन सारेर सहमतिको प्रयास गरे पनि आइतबारसम्म ठोस नतिजा निस्कन सकेको छैन।
दुई महिनासम्म नेतृत्व छान्न नसक्दा संसदमा सरकारका कामकारबाहीमाथि हुनुपर्ने हस्तक्षेपकारी बहस प्रभावित भएको छ। प्रमुख प्रतिपक्षी दलको नेता नहुँदा संवैधानिक परिषदका बैठक र महत्वपूर्ण नियुक्तिहरूमा कांग्रेसको बार्गेनिङ पावर शून्य भएको छ।












