काठमाडौं। नेपाली कांग्रेसले गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणमा स्वतन्त्र र निष्पक्ष छानबिनको माग गरेको छ। पार्टीका प्रवक्ता देवराज चालीसेद्वारा जारी प्रेस विज्ञप्तिमा मन्त्रीहरूको सम्पत्तिको स्रोतबारे उठेका सार्वजनिक प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने उल्लेख गरिएको छ।
विज्ञप्तिमा पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ भएको उल्लेख गर्दै यस्ता विषयमा विश्वसनीय, निष्पक्ष र तथ्यमा आधारित अनुसन्धान अपरिहार्य रहेको धारणा व्यक्त गरिएको छ। पार्टीले यसअघि केन्द्रीय कार्यसमितिको बैठकबाट यस्तै विषयमा स्पष्ट निर्णय गरिसकेको पनि स्मरण गराएको छ।
कांग्रेसले नैतिकता र स्वच्छ राजनीतिलाई संस्थागत गर्ने आफ्नो प्रयास कुनै व्यक्ति वा दल विशेषविरुद्ध नभई समग्र राजनीतिक संस्कार सुधारतर्फ केन्द्रित रहेको स्पष्ट पारेको छ।
गृहमन्त्रीसँग जोडिएको पछिल्लो घटनाले राजनीतिक नैतिकता र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको भन्दै पदमा रहँदै अनुसन्धानमा प्रभाव पर्ने सम्भावनाप्रति पनि चिन्ता व्यक्त गरिएको छ। त्यसैले अनुसन्धान प्रक्रियालाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।
कांग्रेसले सरकारसँग गृहमन्त्रीसम्बन्धी सम्पूर्ण आरोपहरूको उच्चस्तरीय छानबिन तुरुन्त सुरु गर्न आग्रह गर्दै ढिलासुस्ती वा ढाकछोपले जनविश्वासमा नकारात्मक असर पार्ने चेतावनी दिएको छ।
पार्टीले आफू सधैं पारदर्शिता, जवाफदेहिता र नैतिक राजनीतिको पक्षमा दृढ रहने प्रतिबद्धता पुनः दोहोर्याएको छ।












