काठमाडौं। काठमाडौं उपत्यकामा थापाथलीसहित विभिन्न स्थानमा फैलिएका सुकुम्बासी बस्ती हटाउन अभियान शनिबार बिहानबाट सुरु भएको छ।
संघ सरकार र काठमाडौं महानगरपालिका तथा सम्बन्धीत पालिकाले बिहानैदेखि महानगरका कर्मचारी, नगर प्रहरी र सुरक्षाकर्मीको उपस्थितिमा डोजर प्रयोग गरी संरचना हटाउन थालेका हुन्।
सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानअन्तर्गत नदी किनार, सडक छेउ तथा अन्य सरकारी जग्गामा बनेका अस्थायी टहरा भत्काउन थालेको प्रशासनले जनाएको छ। यसअघि पटक–पटक सूचना जारी गर्दै स्वयं हटाउन आग्रह गरिए पनि अटेर भएपछि बाध्य भएर डोजर प्रयोग गर्नुपरेको भनाइ छ।
प्रभावितहरूले वैकल्पिक व्यवस्थाबिना हटाउन नहुने भन्दै विरोध जनाएका छन्।
सरकारले सार्वजनिक सम्पत्ति संरक्षण र व्यवस्थित सहरीकरणका लागि अभियान जारी रहने स्पष्ट पारेको छ। साथै, वास्तविक सुकुम्बासीको पहिचान गरी राज्यस्तरबाट व्यवस्थापन गर्नुपर्ने विषय संघीय सरकारको दायित्व रहेको पनि जनाएको छ।
यस अभियानले काठमाडौंका नदी किनार र सार्वजनिक स्थल खाली गराउने लक्ष्य राखिएको छ।












