काठमाडौं। नेपालमा महँगी बढ्ने क्रम तीव्र बनेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामै औसत उपभोक्ता मुद्रास्फीति ६.२२ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो दर १.६७ प्रतिशत मात्रै थियो।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत पुगेको छ। छिमेकी भारतमा सन् २०२६ अक्टोबरमा यस्तो दर ६.०९ प्रतिशत रहेको छ। यसअनुसार भारतको तुलनामा नेपालमा महँगी बढी छ।
नेपालमा खाद्यवस्तुको मूल्यवृद्धि अझ उच्च देखिएको छ। असोजमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०४ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिमा यो समूहको मूल्यवृद्धि २.५४ प्रतिशत ऋणात्मक थियो।
खाद्यवस्तुतर्फ घ्यू तथा तेलको मूल्य १६.४४ प्रतिशत, फलफूलको १५.४६ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको ११.८४ प्रतिशत र माछा तथा मासुको ८.९१ प्रतिशतले बढेको छ। तरकारीको मूल्य पनि ७.२८ प्रतिशतले बढेको छ।
गैरखाद्य तथा सेवा समूहमा यातायातको मूल्य सबैभन्दा धेरै १२.९७ प्रतिशतले बढेको छ। कपडा तथा जुत्ताचप्पलको ७.०६ प्रतिशत र घरायसी उपकरणको ६.०१ प्रतिशतले मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ।
क्षेत्रगत रूपमा ग्रामीण क्षेत्रमा मुद्रास्फीति ६.६३ प्रतिशत र सहरी क्षेत्रमा ६.२८ प्रतिशत छ। प्रदेशगत रूपमा मधेशमा सबैभन्दा बढी ७.३७ प्रतिशत र सुदूरपश्चिममा सबैभन्दा कम ५.१३ प्रतिशत मुद्रास्फीति रहेको छ।
यसैगरी असोजमा थोक मुद्रास्फीति ७.२९ प्रतिशत पुगेको छ। गत वर्षको सोही महिनामा यस्तो दर १.३२ प्रतिशत मात्रै थियो।












