काठमाडौं । नेकपा (एमाले) को पोलिटब्युरो बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा दोस्रो दिन पनि जारी रहेको छ। पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि पोलिटब्युरो सदस्यहरूले धारणा राख्ने क्रम निरन्तर भइरहेको छ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, अहिलेसम्म ३२ पोलिटब्युरो सदस्यले धारणा राखिसकेका छन् भने यसअघि सचिवालय बैठकमा १९ पदाधिकारीले धारणा राखिसकेका थिए। शुक्रबार मात्रै सात जना नेताहरूले धारणा राखेका थिए। सचिवालय र पोलिटब्युरो बैठक गरी हालसम्म ५८ नेताहरूले आफ्नो विचार सार्वजनिक गरिसकेका छन् भने बाँकी ४१ सदस्य अझै बोल्न बाँकी रहेको गौतमले जानकारी दिए।
तर सबै बाँकी सदस्यले धारणा राख्ने कि नराख्ने भन्ने विषयमा भने अझै टुंगो लागेको छैन। बैठकपछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उठेका जिज्ञासामाथि जवाफ दिने कार्यक्रम रहेको छ। बैठक आजै सक्ने तयारी गरिएको जनाइएको छ।
विधान संशोधनमा महत्वपूर्ण प्रस्तावहरू
पौडेलद्वारा प्रस्तुत संशोधन प्रस्ताव अनुसार पार्टी विधानको धारा ६४ मा रहेको ७० वर्ष उमेर सीमा र दुई कार्यकाल सीमाको व्यवस्था हटाउने प्रस्ताव गरिएको छ। साथै, पदाधिकारीको संख्या १५ जना कायम गर्दै केन्द्रीय कमिटीको संख्या २५१ बनाउने र स्थायी कमिटी, पोलिटब्युरो कमिटी र केन्द्रीय कमिटी गरी तीन तहको संरचना कायम गर्ने प्रस्ताव गरिएको छ।
पोलिटब्युरोले प्रस्तावमा संशोधन गर्ने वा जस्ताको तस्तै पारित गर्ने भन्नेमा चासो बढेको छ। विशेषगरी, पूर्वराष्ट्रपति विद्या भण्डारीको सम्भावित राजनीतिक पुनरागमनको संकेतले यो प्रस्तावलाई थप अर्थपूर्ण बनाएको छ।
विधान महाधिवेशन भदौ २०–२२ मा
एमालेले आगामी विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गर्ने तालिका तय गरेको छ। उक्त महाधिवेशनले विधान संशोधनमाथि अन्तिम निर्णय गर्नेछ।












