काठमाडौं। नेकपा (एमाले)ले संगठनात्मक गतिविधिलाई तीव्रता दिँदै मंसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेलासहित वडा र पालिका अधिवेशनको कार्यतालिका तय गरेको हो।
एमालेले मंसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्षसहित विभिन्न तहका जनप्रतिनिधिको सहभागिता रहनेछ।
राष्ट्रिय भेलामा पार्टीको संगठनात्मक अवस्थालगायतका विषयमा छलफल हुने बताइएको छ। एमालेले स्थानीय तहका कमिटीलाई सक्रिय बनाउने तयारीस्वरूप वडा र पालिका अधिवेशनको मिति पनि तोकेको हो।
बैठकले मंसिर २६ गते वडा कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ। त्यसपछि पुस ४ गते पालिका कमिटीको अधिवेशन आयोजना गरिनेछ।
स्थानीय तहका अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय पनि स्थायी कमिटीले गरेको छ। यससँगै एमालेले वडा तहदेखि प्रदेश तहसम्मका संगठनात्मक गतिविधिको कार्यतालिका अघि सारेको छ।
बैठकले जिल्ला अध्यक्ष नभएका जिल्लामा अध्यक्ष तोकेर माथिल्लो कमिटीमा पठाउन पनि निर्देशन दिएको छ। एमालेका अनुसार हाल १३ वटा जिल्लामा अध्यक्ष पद रिक्त रहेको छ।
राष्ट्रिय भेला, वडा तथा पालिका अधिवेशन र त्यसपछि हुने प्रदेशस्तरीय भेलालाई एमालेले संगठन परिचालन तथा कमिटीलाई पूर्णता दिने प्रक्रियाका रूपमा अघि बढाउने भएको छ।
बिहीबारको स्थायी कमिटी बैठक भने स्थगित गरिएको छ। बाँकी विषयमा छलफल गर्न बैठक शुक्रबार बिहान पुनः बस्नेछ।












