काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्। ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद सजायमा २५ प्रतिशत छुट पाएपछि उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन्।
६५ वर्ष उमेर पूरा गरेसँगै रायमाझीले ज्येष्ठ नागरिकका रूपमा पाउने कैद छुट सुविधा माग गर्दै जिल्ला अदालत काठमाडौंमा निवेदन दिएका थिए। उनको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले कैद छुटको सुविधा प्रदान गरी कात्तिक २६ गते रिहा गर्न आदेश दिएको थियो।
डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालका अनुसार अदालतबाट प्राप्त संशोधित कैदीपुर्जीका आधारमा उनको कैद अवधि पूरा भएकाले रिहा गरिएको हो। रिहाइपछि परिवार तथा आफन्तले उनलाई स्वागत गरेका थिए। त्यसपछि उनी परिवारसँगै निवास पुगेका छन्।
ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२ मा ६५ वर्ष उमेर पूरा भई ७० वर्ष ननाघेका ज्येष्ठ नागरिकलाई कैद सजायमा २५ प्रतिशत छुट दिन सकिने व्यवस्था छ। सोही कानुनी प्रावधानअनुसार रायमाझीले कैद छुट पाएका हुन्।
काठमाडौं जिल्ला अदालतले गत असार ३० गते नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीलाई दोषी ठहर गर्दै चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर भएका उनको एकीकृत कसुरतर्फ चार वर्ष कैद निर्धारण गरिएको थियो।
२५ प्रतिशत कैद छुट पाएपछि उनको चार वर्षको कैद सजाय घटेर तीन वर्ष कायम भएको थियो। अनुसन्धानका क्रममा पक्राउ परेदेखि कारागारमा बिताएको अवधिलाई कैद भुक्तानीमा गणना गर्दा उनको कैद अवधि पूरा भएको हो।
रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए। त्यसयता उनी डिल्लीबजार कारागारमा थिए।











