विराटनगर । सुनसरीको इटहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको छ।
कोशी राजमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–१३ स्थित पेट्रोल पम्पनजिकै शुक्रबार राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार राति करिब ११ः४५ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकलमा सवार दुवै युवक गम्भीर घाइते भएका थिए। तत्काल उद्धार गरी उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल पुर्याइए पनि चिकित्सकले राति १२ः११ बजे मृत घोषणा गरेका थिए।
मृतक दुवै जना अन्दाजी ३० देखि ३५ वर्ष उमेरका पुरुष रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले बताए। उनीहरूको पहिचान खुल्न नसकेको र पहिचानका लागि प्रयास भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न ट्रकका चालक भने फरार छ











