काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले जलवायु परिवर्तनको क्षेत्रमा विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समेटिएका छन्। अमेरिकी म्यागजिन टाइमले सार्वजनिक गरेको सन् २०२६ को ‘टाइम१०० क्लाइमेट’ सूचीमा वाग्लेलाई समावेश गरेको हो।
टाइमले वाग्लेको छनोटको आधार गत भदौमा भोटेकोसी क्षेत्रमा आएको बाढीपछि उनले अघि बढाएको जलवायु कूटनीति, अन्तर्राष्ट्रिय वित्त परिचालनको पहल तथा जलवायु न्यायसम्बन्धी पैरवीलाई बनाएको छ।
विशेषगरी जलवायु परिवर्तनमा न्यून योगदान भए पनि नेपालजस्ता मुलुकले त्यसको असमान रूपमा ठूलो आर्थिक तथा भौतिक क्षति बेहोर्नुपरेको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउनु उनको सक्रियताको महत्त्वपूर्ण पक्ष रहेको टाइमले उल्लेख गरेको छ।
टाइमका अनुसार वाग्लेको छनोटका तीन प्रमुख आधार छन्। पहिलो, जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा उनले गरेको पैरवी हो। दोस्रो, जलवायु वित्त परिचालन तथा उपलब्ध स्रोतको व्यवस्थापनमा उनले अघि बढाएको पहल हो। तेस्रो, अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा आवश्यक सुधारसम्बन्धी उनले राखेका विचार हुन्।
दिगो आर्थिक विकासको क्षेत्रमा विगत २८ वर्षदेखि अध्येता, नीतिनिर्माता र निर्वाचित राजनीतिज्ञका रूपमा सक्रिय वाग्लेलाई जलवायु परिवर्तनको विषयलाई आर्थिक न्याय र विकासको सवालसँग जोडेर उठाएको सन्दर्भमा टाइमले सूचीमा समेटेको हो।
यस सूचीमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, बेलायती राजकुमार विलियम र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयनलगायत अन्तर्राष्ट्रिय व्यक्तित्व पनि समावेश छन्।










