काठमाडौं। सम्पत्ति विवरण सार्वजनिक भएपछि सेयर लगानीका विषयमा विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन्। गुरुङले राजीनामा दिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले गृह मन्त्रालय आफूसँग राखेका छन्।
राजीनामा दिएपछि गुरुङले आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस भनेर राजीनामा दिएको बताएका छन्।
‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ुकन्फ्लिक्ट अफ इन्ट्रेस्टु नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु,’ उनले फेसबुकमा लेखेका छन्।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी रहेको विवरण सार्वजनिक भएपछि गृहमन्त्री गुरुङ विवादमा तानिएका थिए। लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर किनेको रकमको स्रोतमा विवाद सुरू भएपछि गुरुङले राजीनामा दिएका हुन्।










