काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम लम्ब्याएका छन्। तर नाकाबन्दी भने अझै जारी रहने उनले बताएका छन्।
ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘इरानको सरकार अपेक्षा गरेझैं आन्तरिक रूपमा विभाजित छ। पाकिस्तानका फील्ड मार्शल आसिम मुनीर र प्रधानमन्त्री शहबाज शरीफले अनुरोध गरेका छन् कि उनीहरूका नेता र प्रतिनिधिहरूले संयुक्त प्रस्ताव नल्याएसम्म इरानमाथिको आक्रमण रोकियोस्।’
ट्रम्पले थप लेखेका छन्, ‘त्यसैले मैले हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न र अन्य सबै अवस्थामा पूर्ण तयारीमा रहन आदेश दिएको छु। उनीहरूको प्रस्ताव नआउञ्जेल र वार्ता सम्पन्न नहुँदासम्म नतिजा जे भए पनि युद्धविरामलाई निरन्तर बढाइनेछ।’
यसपछि ह्वाइट हाउसले उपराष्ट्रपति जेडी भेन्सको पाकिस्तान भ्रमण रद्द गरिएको पुष्टि गरेको छ।
भेन्स यस महिनामा दोस्रो पटक इस्लामाबाद जाने कार्यक्रम थियो। उनी बुधबार त्यहाँ पुग्ने योजना थियो, जहाँ उनले इरानी अधिकारीहरूसँग सम्झौतालाई अन्तिम रूप दिने तयारी गरेका थिए।











