काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारगृहको समाचार कक्ष (न्युजरुम) मै प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको घटनाको निष्पक्ष छानबिन गर्न र दोषीमाथि तत्काल कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको आकस्मिक सचिवालय बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप हुने गरी भएको घटनालाई गम्भीर रूपमा लिँदै प्रहरीको प्रवेश र धरपकडबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको हो।
बैठकका निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता जगदीश खरेलले सञ्चारगृहभित्रै पुगेर पत्रकारलाई नियन्त्रणमा लिने कार्य गलत भएको बताए। प्रहरी कुन आदेशमा, किन र कसरी सञ्चारगृहमा प्रवेश गर्यो भन्ने विषयको निष्पक्ष छानबिन हुनुपर्ने उनको भनाइ छ।
‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि रास्वपा दृढ छ,’ खरेलले भने, ‘सञ्चारगृहमा प्रहरी कसको आदेशमा, किन र कसरी प्रवेश गर्यो भन्नेबारे सत्यतथ्य छानबिन हुनुपर्छ। दोषी जोसुकै भए पनि शीघ्र कानुनी दायरामा ल्याउन पार्टीले सरकारलाई स्पष्ट निर्देशन दिएको छ।’
के भएको थियो घटना ?
शुक्रबार सादा पोसाकमा आएका प्रहरी विभिन्न सञ्चारमाध्यमका कार्यालयमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिन पुगेका थिए। प्रकाशित समाचारबारे सोधपुछ गर्ने भन्दै प्रहरीले समाचार कक्षमै पुगेर पत्रकारलाई पक्राउ गर्ने तथा केहीलाई खोजी गर्ने काम गरेको थियो।
प्रहरीले नयाँ बानेश्वरस्थित नेपाल प्रेस डटकमको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको थियो। त्यस्तै, मोटिभेट न्युजका सम्पादक शोभराज बराल र डीएनए खबरका सम्पादक धीरज बस्नेतलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।
यसैगरी, नयाँ पत्रिका दैनिकको कार्यालयमा सादा पोसाकका प्रहरी पुगेर पत्रकार नवराज मैनालीको खोजी गरेका थिए। उनी नभेटिएपछि प्रहरीले कार्यालयका सम्पादक खगेन्द्र पन्तसँग समेत लामो समय छलफल गरेको थियो। दियो पोस्टको कार्यालयमा पुगेर प्रधानसम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानाको खोजी गरिएको विवरण सार्वजनिक भएको थियो।
प्रहरीले सञ्चारकर्मीलाई शान्ति सुरक्षामा खलल पुर्याएको उजुरीका आधारमा सोधपुछका लागि नियन्त्रणमा लिएको बताएको थियो। तर, सञ्चारगृहको समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमको चौतर्फी विरोध भएको थियो।
नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाललगायत सञ्चारसम्बद्ध संस्थाहरूले पनि घटनाप्रति आपत्ति जनाएका थिए। महासंघले शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दै सञ्चारगृहमा प्रहरी प्रवेश र पत्रकार पक्राउको विरोध गरेको छ।
रास्वपा प्रवक्ता खरेलले पनि घटना हुनासाथ पार्टीले विरोध जनाएको र प्रधानमन्त्री कार्यालयबाट समेत आफ्नो संलग्नता नरहेको स्पष्ट भइसकेको उल्लेख गरे। समाचार लेखेकै आधारमा पत्रकार तथा सञ्चार संस्थामाथि धरपकड गर्न नपाइने भन्दै उनले प्रेस स्वतन्त्रताको संरक्षणमा पार्टी प्रतिबद्ध रहेको बताए।
न्यायालय पुनर्संरचनाका लागि संसदीय दललाई निर्देशन
यसैबीच, रास्वपा सचिवालय बैठकले न्यायालयमा देखिएका पछिल्ला विकृति, विसंगति तथा न्यायाधीशहरूसँग जोडिएका विवादबारे पनि छलफल गरेको छ।
न्यायक्षेत्रमा देखिएका समस्याको समाधान अदालत वा न्यायपरिषद्बाट मात्रै सम्भव नहुने बैठकको निष्कर्ष छ। समग्र न्यायक्षेत्रको पुनर्संरचना आवश्यक रहेको ठहर गर्दै पार्टीले संवैधानिक बाटोबाट प्रक्रिया अघि बढाउन आफ्नो संसदीय दललाई निर्देशन दिएको प्रवक्ता खरेलले जानकारी दिए।
बैठकले न्यायालयको वर्तमान अवस्था र त्यससँग जोडिएका विवादको दीर्घकालीन समाधानका लागि संस्थागत तथा संरचनागत सुधार आवश्यक रहेको निष्कर्ष निकालेको छ।












