काठमाडौं। विभिन्न चारवटा बैंकबाट लिएको ३४ करोड रुपैयाँ कर्जा उद्देश्यविपरीत प्रयोग गरेको आरोपमा बानियाँ निर्माण सेवाका कार्यकारी निर्देशक दिक्षान्त बाँनिया पक्राउ परेका छन्।
नेपाल राष्ट्र बैंकको पत्रका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो। उनी कांग्रेस नेता एवं बागमतीका पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँका छोरा हुन्।
सीआईबीका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१८ निवासी बाँनियालाई सोमबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४, भैरहवाबाट पक्राउ गरिएको हो। बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान गर्न उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएर उनलाई नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ।
पक्राउपछि बाँनियालाई अदालतबाट चार दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।
अनुसन्धानसँग सम्बन्धित स्रोतका अनुसार बाँनियाले भूगर्व सिमेन्ट कम्पनीका नाममा विभिन्न चारवटा बैंकबाट कर्जा लिएका थिए। उक्त कर्जा कम्पनीको निर्धारित उद्देश्यअनुसार प्रयोग नगरी अन्य कम्पनीमा लगानी गर्न तथा सेयर खरिदमा खर्च गरेको आरोप उनीमाथि छ।
कर्जा चुक्ता गरिसकेको भए पनि रकम स्वीकृत उद्देश्यभन्दा फरक क्षेत्रमा प्रयोग गरेको देखिएपछि उनीमाथि बैंकिङ कसुरसम्बन्धी अनुसन्धान अघि बढाइएको स्रोतको भनाइ छ।
बैंकबाट लिइएको कर्जा चुक्ता गर्नु मात्रै पर्याप्त नहुने र कर्जाको स्वीकृत उद्देश्यअनुसार रकम प्रयोग भए–नभएको विषयसमेत अनुसन्धानको दायरामा पर्ने भएकाले यस प्रकरणमा अनुसन्धान भइरहेको देखिन्छ।
नेपाल राष्ट्र बैंकको पत्र जाहेरीका आधारमा अघि बढाइएको यस घटनामा कर्जा प्रवाह, रकमको प्रयोग तथा त्यससँग सम्बन्धित वित्तीय कारोबारबारे थप अनुसन्धान भइरहेको छ।












