*विराटनगरको ४ बिघा ५ कट्ठाभन्दा बढी जग्गा ८ करोड ३८ लाखमा बेचेर मोरङकै बनिगामामा १२ लाख ८५ हजारको जग्गा खरिद गरिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा सट्टापट्टा गरी बिक्री वितरण गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन मन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले रिजाल क्यानिङ एन्ड कम्पनी प्रालिले फलफूल उद्योग सञ्चालन गर्ने सर्तमा हदबन्दी छुटअन्तर्गत प्राप्त गरेको विराटनगरको जग्गा सट्टापट्टाका नाममा बिक्री गरी सरकारी सम्पत्ति हिनामिना गरेको आरोप लगाएको हो।
अख्तियारका अनुसार प्रतिवादीहरूले सरकारी तथा सार्वजनिक कायम हुनुपर्ने जग्गा निजी प्रयोजनमा हस्तान्तरण गरी ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बराबरको सम्पत्ति हिनामिना गरेको आरोपपत्रमा उल्लेख छ। आयोगले उक्त रकमलाई बिगो कायम गर्दै सम्बन्धित प्रतिवादीहरूबाट असुल गर्न तथा कानुनअनुसार कैद र जरिवाना गर्न मागदाबी गरेको छ।
विराटनगरको महँगो जग्गा बेचेर बनिगामामा सस्तो जग्गा
अख्तियारको अनुसन्धानअनुसार रिजाल क्यानिङ एन्ड कम्पनीले फलफूल उद्योग सञ्चालन गर्ने प्रयोजनका लागि २०३२ सालमा सुनसरी र मोरङमा हदबन्दीभन्दा बढी जग्गा राख्न छुट पाएको थियो। तर, कम्पनीले उक्त जग्गा तोकिएको सर्तअनुसार प्रयोग नगरेको आयोगको निष्कर्ष छ।
कम्पनीले हदबन्दी छुटअन्तर्गत प्राप्त जग्गामध्ये १० बिघा १७ कट्ठा १० धुर जग्गा २०४१ सालमा रिजाल टाशी इन्डस्ट्रिज प्रालिलाई छोडपत्र गरेको देखिएको अख्तियारले जनाएको छ।
त्यसपछि सरकारले २०४८ सालमा गठन गरेको उच्चस्तरीय छानबिन समितिले हदबन्दी छुट पाएका उद्योगहरूले सर्तअनुसार जग्गा प्रयोग गरे वा नगरेको विषयमा अनुसन्धान गरेको थियो। कम्पनीले जग्गा सर्तविपरीत प्रयोग गरेको निष्कर्षका आधारमा सरकारले २०४८ चैत २३ गते कम्पनीको नाममा रहेको सम्पूर्ण जग्गा जफत गर्ने निर्णय गरेको थियो। ती जग्गा रोक्का राखिएको पनि आयोगले जनाएको छ।
तर, पछि उक्त जग्गा फुकुवा गरी सट्टापट्टा गर्ने प्रक्रिया अघि बढाइएको अख्तियारको आरोप छ।
अनुसन्धानका क्रममा विराटनगर उपमहानगरपालिका–३ स्थित कित्ता नम्बर ४८ र ७१ को जग्गा कम्पनीले फलफूल उद्योगमा प्रयोग नगरेको, बेवारिसे छाडेको तथा स्थानीयले फोहोर र मरेका चौपाया फाल्ने स्थानका रूपमा प्रयोग गरेको विवरण भेटिएको आयोगले जनाएको छ।
आयोगका अनुसार उक्त जग्गा सट्टापट्टा गर्नुअघि विभिन्न सरकारी कार्यालयका कर्मचारी तथा पदाधिकारीले सिफारिस र प्रतिवेदन तयार गरेका थिए। त्यसपछि भूमिसुधार तथा व्यवस्था मन्त्रालयले २०६६ कात्तिक १५ गते जग्गा सट्टापट्टाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रस्ताव पठाएको थियो।
तत्कालीन प्रधानमन्त्री तथा मुख्यसचिवले प्रस्ताव मन्त्रिपरिषद्मा पेस गराएको र मन्त्रिपरिषद्ले सामाजिक समितिमा पठाएको अख्तियारको आरोप छ। सामाजिक समितिका तत्कालीन संयोजक डा. मिनेन्द्र रिजालले २०६६ पुस १६ गते जग्गा सट्टापट्टा गर्ने निर्णय गरेको आयोगले जनाएको छ।
१२ लाख ८५ हजारमा जग्गा किनेर ८ करोडभन्दा बढीमा बिक्री
अख्तियारले जग्गा सट्टापट्टाको आर्थिक पक्षलाई पनि भ्रष्टाचारको मुख्य आधार बनाएको छ।
आयोगका अनुसार रिजाल क्यानिङ एन्ड कम्पनीले विराटनगरको कित्ता नम्बर ४८ र ७१ अन्तर्गत कुल ४ बिघा ५ कट्ठा ९ धुर १ कन्वा जग्गा ८ करोड ३८ लाख ६२ हजार ५०० रुपैयाँमा बिक्री गरेको थियो। त्यसको सट्टामा कम्पनीले बनिगामा गाविसमा १२ लाख ८५ हजार रुपैयाँमा जग्गा खरिद गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।
ग्रामथान गाउँपालिकाबाट प्राप्त प्रतिवेदनअनुसार कम्पनीले बनिगामामा खरिद गरेको जग्गाको केही भागमा खाल्डो र कच्ची बाटो रहेको तथा बाँकी भागमा खोला बगेको थियो। उक्त जग्गा कम्पनीले हालसम्म भोगचलन नगरेको र माटो तथा भरोट उत्खनन गरिएको विवरणसमेत भेटिएको अख्तियारले जनाएको छ।
आयोगको निष्कर्षमा विराटनगरको बढी मूल्य पर्ने जग्गा बिक्री गरेर कम मूल्यको जग्गा खरिद गर्ने प्रक्रियाबाट सरकारी सम्पत्तिमा हानि पुर्याइएको र संलग्न व्यक्तिहरूलाई गैरकानुनी लाभ दिलाइएको छ।
यद्यपि, जग्गा बिक्रीको मूल्य र आयोगले कायम गरेको ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो फरक रकम हुन्। बिगोको आधारमा जग्गाको मूल्याङ्कन र अन्य विवरणसम्बन्धी पूर्ण हिसाब आरोपपत्रको उपलब्ध विवरणमा स्पष्ट छैन।
माधव नेपाल र मिनेन्द्र रिजालविरुद्ध के छ मागदाबी?
अख्तियारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री तथा मन्त्रिपरिषद् सामाजिक समितिका संयोजक डा. मिनेन्द्र रिजालविरुद्ध ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो कायम गरेको छ।
दुवै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसुरमा बिगो असुल गर्न, बिगो बराबर जरिवाना गर्न र सम्बन्धित दफाअनुसार कैद सजाय गर्न मागदाबी गरिएको छ। उनीहरूलाई ऐनको दफा २४ अनुसार थप सजाय गर्नसमेत माग गरिएको आयोगले जनाएको छ।
यस प्रकरणमा भूमिसुधार तथा व्यवस्था मन्त्रालय, उद्योग मन्त्रालय, कृषि तथा सहकारी मन्त्रालय, अर्थ मन्त्रालय, कानुन तथा न्याय मन्त्रालय, भूमिसुधार तथा व्यवस्थापन विभाग, मालपोत कार्यालय मोरङ, भूमिसुधार कार्यालय मोरङ र कृषि विकास कार्यालयका तत्कालीन कर्मचारी तथा पदाधिकारीलाई पनि प्रतिवादी बनाइएको छ।
त्यस्तै, बनिगामाका तत्कालीन गाविसका कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा रिजाल क्यानिङ एन्ड कम्पनीका सञ्चालकहरूविरुद्ध पनि मुद्दा दायर गरिएको छ।
आयोगले सरकारी कर्मचारी तथा पदाधिकारीहरूले जग्गा जफत गर्नुपर्ने कानुनी अवस्था हुँदाहुँदै सट्टापट्टा र बिक्री वितरणको प्रक्रिया अघि बढाउन भूमिका खेलेको आरोप लगाएको छ। कम्पनीका सञ्चालकहरूले पनि उक्त प्रक्रियाबाट लाभ लिएको आयोगको दाबी छ।
जग्गा खरिद गर्ने व्यक्तिको नाममा रहेको सम्पत्ति पनि जफत गर्न माग
अख्तियारले सट्टापट्टापछि विभिन्न व्यक्तिका नाममा हस्तान्तरण भएको विराटनगरको जग्गा जफत गर्न पनि माग गरेको छ।
आयोगका अनुसार जग्गा हाल विभिन्न व्यक्ति, कम्पनी तथा संस्थाका नाममा कायम रहेको छ। तीमध्ये डेल्टा रियल्टी प्रालि, नेपाल स्वास्थ्य विकास तथा अनुसन्धान सहकारी संस्था लिमिटेड र सनातन धर्म सेवा समितिसहित विभिन्न व्यक्ति तथा संस्थाको नाम उल्लेख गरिएको छ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख लगायतका कानुनी व्यवस्थाअनुसार उक्त जग्गा जफत गर्न मागदाबी लिएको छ। जग्गा जफत गर्ने प्रयोजनका लागि जग्गा हाल कायम रहेका व्यक्ति तथा संस्थालाई समेत प्रतिवादी बनाइएको छ।
यसैगरी, प्रकरणमा संलग्न भनिएका केही तत्कालीन पदाधिकारी तथा कम्पनीका सञ्चालकको मृत्यु भइसकेकाले उनीहरूका हकमा बिगो असुल गर्ने प्रयोजनका लागि सम्बन्धित व्यक्तिलाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ।
अख्तियारले आरोपपत्र दायर गरे पनि प्रतिवादीहरू दोषी ठहर भइसकेका छैनन्। उनीहरूको कसुर र सजायको अन्तिम निर्णय अदालतबाट हुनेछ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिअनुसार आयोगले २०८३ कात्तिक १७ गते आरोपपत्र दायर गरेको हो।












