काठमाडौं । जापानको स्थायी आवासीय अनुमति (पीआर) लिएको विषयमा विवाद भएपछि जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिने भएका छन्।
संसदीय सुनुवाइ समितिमा उपस्थित नहुने र नाम फिर्ता लिन निवेदन पठाउने जानकारी उनले गराएको समितिका सभापति बोधनारायण श्रेष्ठले बताए।
सभापति श्रेष्ठका अनुसार स्वार्थ बाझिन सक्ने अवस्था र संवैधानिक योग्यतासम्बन्धी प्रश्न उठेपछि थापाले राजदूत नियुक्तिको प्रक्रियाबाट पछि हट्ने निर्णय गरेका हुन्। यद्यपि, समितिमा उनको नाम फिर्तासम्बन्धी औपचारिक निवेदन प्राप्त भइसकेको छैन।
गत असोज २८ गते भएको संसदीय सुनुवाइका क्रममा सांसदहरूले थापाले जापानको पीआर लिएको र त्यसलाई त्यागेको समयबारे प्रश्न उठाएका थिए। जवाफमा उनले आफूले जापानको स्थायी आवासीय अनुमति त्यागिसकेको बताएका थिए।
तर, सांसदहरूले संविधानको धारा २९१ मा रहेको नियुक्तिसम्बन्धी व्यवस्थाअनुसार उनको योग्यता पुग्ने वा नपुग्ने विषयमा थप स्पष्टता खोजेका थिए। पीआर त्यागेको अवधि र त्यससँग सम्बन्धित संवैधानिक प्रावधानबारे प्रश्न उठेपछि समितिले थापाको सुनुवाइ प्रक्रिया स्थगित गर्दै थप अध्ययन गर्ने निर्णय गरेको थियो।
राजदूत नियुक्तिका लागि सिफारिस भएका १३ जनामध्ये समितिले उक्त दिन १० जनाको नाम अनुमोदन गरेको थियो। साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम भने अनुमोदन भएको थिएन।
थापाको नाममा संवैधानिक योग्यतासम्बन्धी प्रश्न निरूपण हुन नसकिरहेका बेला उनले नियुक्ति प्रक्रियाबाट अलग हुने जानकारी गराएका हुन्। अब उनले औपचारिक निवेदन पठाएपछि मात्र नाम फिर्तासम्बन्धी प्रक्रिया अघि बढ्नेछ।












