काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेको छ । सोमबार बसेको प्रदेश सभा वैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिइएको छ । प्रदेशका १२ जिल्लामा सञ्चालित भएका पुराना योजना र कार्यक्रमलाई निरन्तरता दिइएको छ भने कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन र पूर्वाधार विकासमा केही नयाँ कार्यक्रम राखिएका छन् ।
लुम्बिनी सरकारले सन् २०३० सम्म प्रदेशलाई बालविवाह मुक्त बनाउने घोषणा गरेको छ । त्यसका लागि स्थानीय तहसँगको सहकार्यमा १० वर्षे रणनीति कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
बालविवाह, बालश्रम, बालबालिकाविरुद्धको हिंसा, बालयौन दुर्व्यवहार, बालबालिका बेचबिखन तथा गैरकानुनी ओसारपसार नियन्त्रण सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने पनि प्रदेश सरकारको घोषणा छ ।