काठमाडौं। दसैँका मुख्य चार दिन काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने भएको छ।
काठमाडौँ महानगरपालिकाका अनुसार आगामी कात्तिक १ देखि ४ गतेसम्म बन्चरेडाँडा ल्यान्डफिल साइट बन्द हुनेछ। यो अवधिमा सफाइ कर्मचारीसमेत पर्व मनाउन जाने र फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडा बन्द रहने भएकाले सेवा प्रभावित हुने महानगरपालिकाले जनाएको छ। अन्य दिन भने फोहोर व्यवस्थापन नियमित सञ्चालन हुने महानगरपालिकाको भनाइ छ।
फोहोर व्यवस्थापनमा समस्या हुन सक्ने भन्दै महानगरपालिकाले दसैँका बेला घर, कार्यालय तथा व्यवसायबाट निस्कने फोहोर जथाभावी नफाल्न उपत्यकावासीलाई आग्रह गरेको छ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले फोहोरलाई कुहिने र नकुहिने गरी छुट्टाछुट्टै वर्गीकरण गरेर घरमै व्यवस्थापन गर्न अनुरोध गरेकी छन्।
‘आफ्नो घर, कार्यालय तथा व्यवसायबाट उत्पादन हुने फोहोरलाई जथाभावी रूपमा सडक र सार्वजनिक स्थानमा नफाली आफ्नै घर, कम्पाउन्डमा व्यवस्थापन गर्नुहोला,’ उनले भनिन्।
महानगरपालिकाले ल्यान्डफिल साइट बन्द रहने अवधिमा सडक, चोक, सार्वजनिक स्थल, नदीकिनार तथा खुला स्थानमा फोहोर नफाल्न आग्रह गरेको छ। चाडपर्वका बेला घरआँगन र टोल सफा राख्दै वातावरणीय स्वच्छता कायम गर्न पनि महानगरपालिकाले अपिल गरेको छ।
फोहोरलाई स्रोतमा नै वर्गीकरण गरी राख्दा व्यवस्थापन सहज, व्यवस्थित र वातावरणमैत्री हुने महानगरपालिकाको भनाइ छ। फोहोर व्यवस्थापनमा हुन सक्ने असुविधालाई ध्यानमा राख्दै उपत्यकावासीलाई आफ्नो घर तथा परिसरमा निस्कने फोहोर सुरक्षित रूपमा राख्न महानगरपालिकाले अनुरोध गरेको हो।












