काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदान केन्द्रमा खटिने मतदान अधिकृतको काम, कर्तव्य र अधिकारबारे आमनागरिकमा चासो देखिएको छ। यस सम्बन्धमा निर्वाचन आयोगले ‘प्रतिनिधिसभा सदस्य मतदान निर्देशिका, २०८२’ जारी गर्दै मतदान अधिकृतका जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गरेको छ।
निर्देशिकाअनुसार मतदान अधिकृतमा नियुक्त भएपछि अनिवार्य रूपमा निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा सहभागी हुनुपर्नेछ। साथै, निर्वाचन सामग्री, मतदाता परिचयपत्र तथा मतदान केन्द्रसँग सम्बन्धित सम्पूर्ण सामग्री रुजु गरी बुझिलिनुपर्ने व्यवस्था गरिएको छ।
मतदान अधिकृतले आफूलाई तोकिएको मतदान केन्द्रमा खटाइएका सहायक मतदान अधिकृत, अन्य कर्मचारी तथा सुरक्षाकर्मीसँग समन्वय गर्दै तोकिएको समयमा मतदान केन्द्रमा पुग्नुपर्नेछ। मतदान केन्द्र निर्माण, सुरक्षाको व्यवस्थापन तथा भौगोलिक कठिनाइ वा अन्य मनासिव कारणले तोकिएको स्थानमा मतदान गराउन नसकिने अवस्था आएमा तुरुन्तै निर्वाचन अधिकृतलाई जानकारी गराई वैकल्पिक मतदान केन्द्र स्थापना गर्नुपर्ने प्रावधान पनि निर्देशिकामा उल्लेख छ।
मतदान हुनुभन्दा अगावै मतदान केन्द्रमा गएर मतदाता परिचयपत्र वितरण गर्ने, कर्मचारी तथा स्वयंसेवकलाई कामको बाँडफाँट गर्ने, मतदातालाई मतपत्र दिनुअघि मतपत्रमा हस्ताक्षर गर्ने र मतदान प्रक्रिया प्रभावकारी रूपमा सञ्चालन गर्ने जिम्मेवारी मतदान अधिकृतको हुनेछ। मतदानको दिन मतदान कार्यको निरन्तर अनुगमन गर्दै समय–समयमा निर्वाचन अधिकृतलाई जानकारी गराउनुपर्ने व्यवस्था पनि गरिएको छ।
त्यस्तै, मतदान केन्द्रमा आउने पर्यवेक्षक, पत्रकार, अनुगमनकर्ता, घुम्ती टोली तथा सुरक्षाकर्मीलाई मतदानको अवस्थाबारे जानकारी गराउने, निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउने तथा कुनै पनि गैरकानुनी गतिविधि हुन नदिने दायित्व पनि मतदान अधिकृतकै हुन्छ।
मतदान सम्पन्न भएपछि मुचुल्का तयार गरी शिलबन्दी गरिएको मतपेटिका तथा अन्य निर्वाचन सामग्री सुरक्षित रूपमा निर्वाचन अधिकृतलाई बुझाउनुपर्ने निर्देशिकामा उल्लेख छ। साथै, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ अनुसारको अधिकार प्रयोग गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउनु मतदान अधिकृतको प्रमुख कर्तव्य हुने आयोगले जनाएको छ।






![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)