काठमाडौं। सरकारले संघीय संसदको दुबै सदनको अधिवेशन आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यही वैशाख २८ गते दिउँसो दिउँसो २ बजेका लागि संसदको दुबै सदनको अधिवेशन आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए।
यसअघि मंगलबार नै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेका थिए।
अघिल्लो साता मन्त्रिपरिषद्ले सिफारिस गरेको उक्त अध्यादेश राष्ट्रपतिले पुनर्विचारका लागि सोमबार फिर्ता पठाएका थिए । तर, सरकारले कुनै संशोधन नगरी सोमबार पुनः उही अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको थियो। सोही सिफारिसका आधारमा राष्ट्रपतिले मंगलबार अध्यादेश जारी गरेका हुन्।












