ललितपुर। नेपाली कांग्रेसले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने सम्बन्धमा भारत र चीनबीच भएको सहमतिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
ललितपुरको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त सहमतिप्रति असहमति जनाउँदै निर्णयहरू सार्वजनिक गरेको हो।
बैठकले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अविभाज्य भूमि भएको पुनः स्पष्ट पारेको छ। कांग्रेसले २०७२ मा तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारले नेपालको सहमति विना दुई देशबीच भएको सहमति सच्याउन आग्रह गर्दै भारत र चीन दुवैलाई पठाएको कूटनीतिक नोटको स्मरण गराएको छ।
कांग्रेसले सन् १८१६ को सुगौली सन्धि, ऐतिहासिक नक्सा र प्रमाणका आधारमा ती भू(भागहरू नेपालकै भएको दाबी गर्दै मागहरू अघि सारेको छ।
२०७७ मा संसद्बाट सर्वसम्मतिले पारित लिपुलेक र कालापानी सहितको नक्सा संविधानको अंग भइसकेकाले यसलाई अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य बनाउन कूटनीतिक पहल गर्नु सरकारको प्रमुख जिम्मेवारी रहेको कांग्रेसले बताएको छ। त्यस्तै, सीमाजस्तो संवेदनशील विषयमा राजनीतिक मतभेदभन्दा माथि उठेर साझा राष्ट्रिय धारणा र एकता कायम हुनुपर्नेमा कांग्रेसले जोड दिएको छ।
नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकताको सम्मान गर्दै उच्चस्तरीय कूटनीतिक वार्ता र संवादमार्फत यो समस्या समाधान गर्न कांग्रेसले भारत र चीन दुवै सरकारलाई आग्रह गरेको छ।
छिमेकी मुलुकहरूले नेपालको सार्वभौमिकताप्रति संवेदनशीलता देखाउने विश्वास व्यक्त गर्दै कांग्रेसले कूटनीतिक च्यानलमार्फत थप प्रभावकारी भूमिका निर्वाह गर्न सरकारलाई विशेष अपिल गरेको छ।
![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-750x375.jpg)











