काठमाडौं। २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज सोमबार मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ।
निर्वाचन आयोगका अनुसार राति १२ बजेदेखि मौन अवधि सुरु हुने छ र त्यसपछि कसैको पक्ष वा विपक्षमा चुनाव प्रचारप्रसार गर्न वा भोट माग्न पाइने छैन। सञ्चारमाध्यममा पनि सोसम्बन्धी समाचार प्रकाशन गर्न पाइँदैछ।
राजनीतिक दल र उम्मेदवारको घरदैलो आज अन्तिम दिन हो। मौन अवधि मतदान नसकिएसम्म लागु हुन्छ। निर्वाचनसम्बन्धी कानुनमा मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघिबाट मौन अवधि सुरु हुने व्यवस्था छ।
आयोगका अनुसार मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन भने मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार र प्रसारका सामग्री हटाउनुपर्छ।
त्यस्तै,एसएमएस, फेसवुक, भाईवर जस्ता बिद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक संजालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार पनि बन्द हुन्छ।
उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अंकित पहिरन, टोपी, स्टीकर, लोगो, झोला, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन पाइँदैन।
त्यस्तै, उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन।












