काठमाडौं। इजरायल र अमेरिकाले इरानमाथि हमला गरेपछि विकसित तनावका कारण नेपाल पनि प्रभावित भएको छ। इरानले पनि खाडी मुलुकमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षितगरी आक्रमण गरेपछि अवस्था थप तनावग्रस्त छ।
यही बेला नेपालको प्रमुख गन्तव्य मुलुकसमेत रहेका खाडीका १२ देशका लागि लागि श्रम स्वीकृति रोकिएको हो।
वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायलका लागि प्रदान गरिने व्यक्तिगत र संस्थागत श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन गरेको हो।
१७ गते श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट यो कदम चालेको विभागले जनाएको छ। यी देशमा रोजगारीका लागि विभाग र अन्तर्गतका निकायबाट प्रदान गरिने श्रम स्वीकृति अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको सूचनामा उल्लेख छ।












