काठमाडौं। न्यायालयका उच्च पदाधिकारी र न्यायाधीशहरू विवादमा तानिएपछि ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले उनीहरूमाथि निष्पक्ष छानबिन गर्न माग गरेको छ। न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र जनविश्वास कायम राख्न विवादमा परेका न्यायाधीशमाथि उठेका प्रश्नको यथाशीघ्र निरूपण हुनुपर्ने संस्थाको भनाइ छ।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका उपाध्यक्ष सञ्जोगप्रसाद पाण्डेले सोमबार जारी गरेकाे प्रेस विज्ञप्तिमा न्यायपालिकाको निष्पक्षतामाथि राजनीति, सरकार र व्यावसायिक क्षेत्रको प्रभाव रहने गरेको विषय विगत लामो समयदेखि विभिन्न कोणबाट उठ्दै आएको उल्लेख गरेको छ।
पछिल्लो समय सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहित केही न्यायाधीशहरूको संलग्नता र सम्बन्धबारे सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि संस्थाले यस विषयलाई गम्भीर रूपमा लिएको जनाएको छ। सम्बन्धित न्यायाधीशहरूले सार्वजनिक रूपमा स्पष्टीकरण दिए पनि उठेका प्रश्नको समाधान त्यसबाट मात्रै नहुने संस्थाको धारणा छ।
सार्वजनिक स्पष्टीकरणले मात्रै प्रश्नको निरूपण हुँदैन
संस्थाका अनुसार न्यायालयमा विचाराधीन मुद्दासँग सम्बन्धित कुनै पनि पक्ष, बिचौलिया वा प्रभावशाली व्यक्तिसँग न्यायाधीशहरूको भेटघाट तथा सम्पर्क स्थापित हुनु नैतिकता र आचारसंहिताको दृष्टिले गम्भीर विषय हो।
न्यायाधीशहरूले व्यावसायिक, कानुनी र नैतिक मापदण्ड पालना गर्नुपर्नेमा जोड दिँदै संस्थाले यस्ता घटनाले न्यायपालिकाको आमूल सुधारको आवश्यकतालाई समेत उजागर गरेको जनाएको छ।
न्यायालयको निष्पक्षतामाथि प्रश्न उठिरहेका बेला सम्बन्धित व्यक्तिहरूले सार्वजनिक रूपमा दिएका स्पष्टीकरणले मात्र विवाद समाधान गर्न नसक्ने संस्थाको ठहर छ। त्यसैले आरोपको सत्यतथ्य पत्ता लगाउन निष्पक्ष र विश्वसनीय छानबिन आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ।
न्यायसम्पादनमा उच्च नैतिक आचरण आवश्यक
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले न्यायसम्पादनको जिम्मेवारीमा रहेका व्यक्तिहरूले कानुनले तोकेको मापदण्डभन्दा पनि उच्च नैतिक आचरण प्रदर्शन गर्नुपर्नेमा जोड दिएको छ।
न्यायाधीशहरूले विवादमा परेका विषयमा स्पष्टीकरण दिइसके पनि त्यसबाट प्रश्नहरूको निरूपण नभएमा न्यायसम्पादनको जिम्मेवारीबाट अलग रहने उचित विकल्प हुन सक्ने संस्थाले जनाएको छ।
न्यायालयप्रति नागरिकको विश्वास कायम राख्न न्यायाधीशहरू स्वयंले आफ्नो आचरण र व्यवहारबाट निष्पक्षता प्रमाणित गर्नुपर्ने संस्थाको भनाइ छ।
संसदीय समितिमार्फत अनुसन्धान गर्न आग्रह
संस्थाले न्यायपालिकाको स्वतन्त्रता र कार्यप्रभावकारिताका विषयमा आवश्यक निर्णय गर्ने अधिकार संसद्मा रहेको स्मरण गराएको छ। यस विषयको गम्भीरता र सार्वजनिक महत्त्वलाई ध्यानमा राख्दै संसदीय समितिमार्फत तथ्यपरक अनुसन्धान गरी आवश्यक निर्णय लिन उसले आग्रह गरेको छ।
त्यसैगरी, विवादमा परेका न्यायाधीशहरूको सम्पत्तिसम्बन्धी विवरणसमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग संस्थाले गरेको छ।
न्यायालयको निष्पक्षता र विश्वसनीयतामाथि उठेका प्रश्नको पारदर्शी ढंगले निरूपण गर्न सके मात्रै न्यायपालिकाप्रति नागरिकको विश्वास बलियो बनाउन सकिने ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको निष्कर्ष छ।












