काठमाडौं। नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले इनम सापकोटा प्रकरणलाई सत्ताको दुरुपयोग र सुशासनमाथिको प्रश्नका रूपमा प्रस्तुत गरेकी छन्।
उनले प्रहरी हिरासतमा रहेका अभियुक्तको मोबाइल फोन फरेन्सिक परीक्षण हुनुअघि नै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दुई दिनसम्म आफ्नै घरमा लुकाएर राखेको भन्ने विवरण सार्वजनिक भएको उल्लेख गर्दै सरकार र सत्तारूढ दलसँग जवाफ मागेकी छन्।
संग्रौलाले यस्तो विषय सार्वजनिक भइसकेपछि प्रतिपक्षलाई मात्रै प्रश्न गर्ने नभई सत्तापक्ष पनि जवाफदेही हुनुपर्ने बताएकी छन्। ‘कि बालेनराजमा प्रश्न प्रतिपक्षलाई मात्रै गरिन्छ ?’ भन्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकी छन्।
उनले देशमा प्रधानमन्त्री को छन् भन्ने विषयमै आम नागरिक अन्योलमा पर्ने अवस्था बनेको टिप्पणी गर्दै सुशासनको सट्टा छाडातन्त्र हावी हुन थालेको आरोप लगाएकी छन्।
कांग्रेसमाथि सत्ताको दुरुपयोग गरेर आक्रमण गर्न खोजिएको उनको दाबी छ। लोकतन्त्रको पहरेदारका रूपमा कांग्रेसमाथि प्रहार गर्ने प्रयास भए पनि सत्ताले गरेका गल्ती सार्वजनिक हुँदै जाँदा वास्तविकता बाहिर आउने उनले बताएकी छन्।
‘सत्ताले गरेका गल्तीहरूको मुकुन्डो उघारिँदा लाज पनि लजाउने पक्का छ,’ संग्रौलाले भनेकी छन्।
उनले इनम सापकोटा प्रकरणमा सार्वजनिक भएका विवरणबारे सरकार र सत्तारूढ दलले स्पष्ट जवाफ दिनुपर्नेमा जोड दिएकी छन्।












