काठमाडौं। नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास गरेर अमूल्य मत दिने महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्। उनले आफूलाई गरिएको विश्वासको शिर कहिल्यै झुक्न नदिने प्रतिबद्धता जनाएका छन्।
१५औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएपछि भण्डारीले धन्यवाद सन्देश जारी गर्दै पार्टीमा ‘म’ होइन, ‘हामी’ र ‘हाम्रो’ भन्ने भावनाका साथ अघि बढ्ने बताएका हुन्।
‘तपाईंहरूले मप्रति गर्नुभएको विश्वासको शिर कहिल्यै झुक्ने छैन,’ उनले भनेका छन्, ‘सधैँ ‘म’ होइन, ‘हामी’ र ‘हाम्रो’ भन्ने भावनाका साथ अघि बढ्नेछु।’
उपसभापतिमा निर्वाचित भण्डारीले महाधिवेशनमा सहभागी भएर आफूलाई विश्वास र समर्थन गर्ने प्रतिनिधि तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फका दुई उपसभापति पदका लागि सात जनाबीच प्रतिस्पर्धा भएको थियो। भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दै सबैभन्दा बढी मतसहित उपसभापतिमा जित हासिल गरेका हुन्।
सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माका राजनीतिक रूपमा अग्रज मानिने भण्डारी विशेष महाधिवेशनका बेला भने स्पष्ट कित्तामा देखिएका थिएनन्। विशेष महाधिवेशनको उद्घाटनमा सहभागी भए पनि उनले त्यसबाटै नयाँ कार्यसमितिमा आउने रुचि देखाएका थिएनन्। विशेष महाधिवेशनलाई नीति महाधिवेशनका रूपमा समापन गर्नुपर्ने उनको धारणा थियो। उनी गत वैशाखमा मात्रै थापा नेतृत्वको कार्यसमितिमा प्रवेश गरेका थिए।
कांग्रेसको नयाँ विधानमा वरिष्ठसहित पाँच उपसभापतिको व्यवस्था गरिएको छ। पार्टीमा पाँच दशकदेखि सक्रिय भण्डारी यसपटक सर्वाधिक मतसहित उपसभापतिमा निर्वाचित भएका हुन्।
गुल्मीको छत्रकोटस्थित हुँगामा २०१८ सालमा जन्मिएका भण्डारी किशोरावस्थादेखि नै नेपाली कांग्रेसको राजनीतिमा आकर्षित भएका थिए। २०३३ सालदेखि सक्रिय राजनीतिमा लागेका उनी २०३६ र २०४६ सालका जनआन्दोलनमा सहभागी भएका थिए। पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनका क्रममा पक्राउ परेका उनले पाँच वर्ष जेल जीवन बिताएका थिए।
२०४८ सालमा नेपाल विद्यार्थी संघको महामन्त्री बनेका भण्डारी २०६७ सालपछि निरन्तर कांग्रेसको केन्द्रीय सदस्य रहे। उनले २०६४, २०७०, २०७४, २०७९ र २०८२ सालका प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए। २०६४ र २०७४ मा एमाले नेता प्रदीप ज्ञवालीसँग पराजित भएका उनी २०७० र २०७९ मा ज्ञवालीलाई हराउँदै संसद् पुगेका थिए। २०८२ को निर्वाचनमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकालसँग पराजित भए।
२०७९ सालमा ग्यास चुहिएर भएको आगलागीमा आमालाई गुमाएका र आफू पनि गम्भीर दुर्घटनाबाट बाँचेका भण्डारीले त्यसपछि जीवन र जनसेवाप्रतिको दृष्टिकोणलाई थप परिपक्व बनाएको बताइन्छ।
समाजशास्त्र र मानवशास्त्रमा विद्यावारिधि गरेका भण्डारीको इतिहास र दर्शनमा पनि गहिरो रुचि छ। पार्टीभित्र लामो समय नेतृत्वलाई प्रश्न गर्दै आएका उनी अब उपसभापतिको जिम्मेवारीमा रहेर पार्टीको नीति, संगठन र नेतृत्वको निर्णय प्रक्रियामा प्रभाव पार्ने ठाउँमा पुगेका छन्।












