बालबालिका वा वयश्कद्वारा लेखिएका बालबालिका केन्द्रित गीति स्वरूपका साहित्यलाई बाल गीत भनिन्छ । नेपाली बाल शब्दकोषमा ‘बालकहरुले बुझ्ने भाषामा तयार गरिएको गीत, बालकहरुको गीतलाई’ बाल गीतको रुपमा परिभाषित गरिएको छ ।
बाल गीतलाई लल्लोरी, निदरी गीत, लोरी गीत, झोलुङ्गे गीत पनि भनिएको पाइन्छ । बालबालिकालाई खेलाउँदा सुनाइने गीति साहित्यलाई खेल गीत भनिन्छ । कुनै विषयलाई गीतका रूपमा प्रस्तुत गरिने गीतलाई विषयगत गीत भनिन्छ । विषयगत गीतहरू बालबालिकाहरूमा रुचि सम्बर्धन, भाषा विकास, शब्दभण्डार विकास, शैक्षिक जागरण एवम् सिर्जनशीलताको विकासका निम्ति गाइन्छन् ।
नेपाली समाजमा बाल गीतको प्रचलन धेरै पहिलेदेखि रहँदै आएको छ । शिशु अवस्थादेखि बालबालिकालाई खुवाउन, सुताउन, खेलाउन, बालगीत गाउने प्रचलन अझै पनि गाउँ घरमा पाईन्छ ।
नेपाली समाजमा ‘को खाई को खाई’, ‘ताराबाजी लै लै’, ‘नाँच न नानी नाच न’, ‘घाम पानी घाम पानी’, ‘हरबर तोरी’, ‘उड्कुसी मुड्कुसी’, ‘कान्छी औंला भन्छ दशैं आयो’, ‘बबो बाँ बुबु दे’, ‘चीँ मुसी चीँ’, ‘कुखुरी काँ’, ‘यति यति पानी’ जस्ता बाल गीत निकै प्रचलित छन् । नेपाली भाषामा बाल कविता र बाल गीतको लेखन कार्य विशेष गरी बाल पाठ्यपुस्तकको तयारीका क्रममा नै भएको हो ।
प्रारम्भिककालीन अवस्थामा फुटकर प्रकाशन बाहेक कृतिगत रुपमा बाल गीत, बाल कविता र बाल काव्य जस्ता क्षेत्रमा महाकवि देवकोटा, लेखनाथ पौड्याल, पारशमणि प्रधान, माधव घिमिरेहरुको महत्वपुर्ण योगदान रहेको छ ।
१९९७ सालमा प्रकाशित लक्ष्मीप्रसाद देवकोटाको प्रथम बालकृति ‘राजकुमार प्रभाकर’ पछि नेपाली भाषामा बाल कविता एवं बाल गीत प्रशस्त प्रकाशित छन् । तर संगीतवद्ध बाल गीतहरुको सङ्ख्या न्यून छ ।
यस लेखको उद्देश्य बाल गीत कति छन् ? कस्तो बनेका छन् ? कसले बनाएका हुन् ? कस्तो बन्नु पथ्र्यो ? बाल गीत कति लेखिन्छन् ? कस्तो विषयमा बाल गीत बढी लेखिएका छन् ? कुन विषयमा बाल गीत लेख्न बाँकी छ ? यस्ता विषयमा चर्चा गर्नु होइन । यस लेखले बाल गीतको प्रयोग वा उपयोग सम्बन्धी केही उदाहरण प्रस्तुत गरेर बाल गीतको प्रयोग किन बढ्न जरुरी जरुरी छ र कसरी बढाउन सकिन्छ भनेर छलफलको सुरुवात मात्रै गर्न खोजेको छ ।
विद्यालयको वार्षिकोत्सव होस् वा अतिरिक्त कृयाकलाप किन नहोस् । बालकलाई युवा, वयश्कहरुका प्रणय र रतिराग (मायाप्रेम)का गीतहरु कण्ठ गर्न लगाएर गाउन वा नचाउन लगाइन्छ । दश वर्ष पनि उमेर नकटेका विद्यार्थीलाई तन्नेरी तरुनी बनाएर यौवनको उछालकुदमा झुम्न लगाइन्छ । स्टेजमा आफ्ना सन्तानले प्रेमका गीतहरु गाएको र प्रेमका गीतमा नाचेको हेर्दै हामी अभिभावकहरु थपडी बजाएर अझै विद्यार्थी तथा शिक्षक शिक्षिकालाई प्रोत्साहन दिइरहेका छौं ।
पारिवारिक जमघटका बेला पनि यस्तै अभ्यासहरु दोहोरिइरहन्छन् । युवा पुस्ताका लागि बनाइएको प्रेमका गीतहरुले बालमस्तिष्कमा कस्तो प्रभाव पार्ला भन्ने विषयमा हामी अभिभावक, शिक्षक शिक्षिका तथा नीति निर्माता अथवा भनौं अगुवाहरुको ध्यान किन जान नसकेको होला ।
म पनि कक्षा नर्सरीमा पढ्ने ४ वर्ष पनि नकटेको विद्यार्थी (छोरो) को अभिभावक हुँ । मेरो छोरोले एकदिन ‘कता हिँडेको ?’ ….. भनेर गीत गुनगुनायो । गाएको त भन्न मिलेन किनकी उ यी शब्द र यीनका अर्थका बारेमा अनविज्ञ नै छ । कहाँ सुनेको छोरो ? भनेर सोध्दा उसले विद्यालयमा म्यामले दादादिदीहरुलाई नाच्न सिकाउनुहुँदा सुनेको भन्यो । छोरो पढ्ने विद्यालयको त्यो भवनमा नर्सरीदेखि कक्षा तीनसम्म मात्रै पढाई हुन्थ्यो । पछिल्लो केही महिनादेखि भने पाँच कक्षासम्म पढाउने गरिएको छ ।
मैले पनि छोरोलाई मोबाइलमा गीतहरु देखाउँछु । प्रायः बाल गीतहरु, कि कथाहरु । त्यो दिन मैले उसलाई युट्युबमा ‘मेरो नाक कस्तो छ’, ‘हुक्काभित्र ट्वार्र ट्वार्र’, ‘बाँसको त्यो मदानी’, ‘आइतबार विहानै’ जस्ता गीतहरु देखाएँ । उसले खुसी भएर हेर्यो । तत्कालका लागि युवा पुस्ताको गीतबाट छुटकारा पायो ।
म छोरोलाई लिन विद्यालय पुग्दा पनि कैयौं पटक प्रेमका गीतहरु बजाएर विद्यार्थीलाई नाच्न सिकाइरहेको देखेको छु । मैले विद्यालय प्रशासनसमक्ष राख्न नसकेको कुरा म यस लेखमार्फत व्यक्त गरिरहेको छु । ताकी यो विषय मेरो छोरो पढ्ने विद्यालयको मात्रै नभएर सबै विद्यालयसँग सम्बन्धित छ । जहाँ बालबालिकालाई बाल गीत कम माया प्रेमका गीतमा गाउन र नाच्न अभ्यस्त बनाइँदै आइएको छ ।
भनिन्छ, गीतका शब्दहरु दिमागको देब्रे पट्टिको भागमा बस्छन् तर त्यसमा धुन हालेपछि मेलोडी सहितको धुन दाहिनेतिर बस्छ । यसरी शब्दमा धुन हालेपछि मस्तिष्कको दुवै भागले काम गर्ने भएकाले सिक्ने, सम्झिने र बुझ्ने क्रम स्वभाविक रूपमा वृद्धि हुन्छ ।
विशेषगरी ४ देखि १३ वर्ष उमेरका बालबालिकाका लागि सांगीतिक शिक्षण विधि ज्यादै प्रभावकारी हुने कुरा अध्ययनले देखाएको छ । सबै गीत संगीत नराम्रा हुँदैनन् । छैनन् पनि । बालबालिकाले गीत संगीतको माध्यमबाट सिकाएको कुरा अझ प्रष्टसँग बुझ्न र स्मरण गर्न सक्छन् । बालमास्तिष्कको लागि गीत, संगीत सुन्नु, नाच्नु, गाउनु आवश्यक छ । बालबालिकाको मानसिक स्वास्थ्य, दिमागलाई तिखो बनाइराख्न पनि गीत संगीत अर्थात नाचगानको महत्वपूर्ण भूमिका हुन्छ ।
बाल गीत के साँच्चै कम छन् ?
बालबालिकाको उमेर, रुची, ग्रहणशिलता, अवस्था, उनीहरुको समग्र विकास तर्फ ख्याल गरेर लेखिएको साहित्य बाल साहित्य हो । पन्ध्र सोह्र वर्षसम्मको उमेर समुह यसका पाठकहरु हुन्छन् । बाल साहित्य अन्तर्गत ठुलाले बालबालिकाका लागि र स्वयं बालबालिकाले लेखेका रचनाहरू पर्दछन् । बालबालिकालाई यथार्थको पाटो हिँडाउन, देखाउन, बुझाउन, सिकाउन र उत्साहित गर्न बाल साहित्य लेखिन्छ । बाल गीत बाल साहित्यको एउटा पाटो हो ।
पछिल्लो समय बालसाहित्यका पुस्तकहरुको प्रकाशन बढिरहेको देखिन्छ । बालसाहित्यकारहरुको सङ्ख्या पनि बढ्दो क्रममै छ । बालसाहित्यमा मात्रै कलम चलाउनेहरु पनि छन् । बालसाहित्य लेखनले गति लिइरहे पनि गुणस्तर र सङ्ख्यात्मक हिसाबले पर्याप्त भने छैन । बाल गीतको अवस्था पनि उस्तै छ ।
बालक जन्मनासाथ उसको भेट गीत र संगीतसित हुन्छ । कीटपतङ्गहरुको किरकिर, चराचुरुङ्गीको चिरबिर र पुतलीको फिरफिरमा थाहै नपाई बालकको कोमल मन तरङ्गिन्छ । बालबालिकालाई हामीले गीत दिनुपर्छ । संगीत दिनुपर्छ, लय दिनुपर्छ । यसरी दिँदा हामीले ख्याल गर्नुपर्ने कुरा के हो भने बालबालिकाकै शब्द दिनुपर्छ । भाव दिनुपर्छ र वातावरण दिनुपर्छ । बालगीतको सङ्ख्या र गुणस्तर बढाउनका लागि बालसाहित्यकार (कवि तथा गीतकार) रामबाबु सुवेदीको अगुवाईमा बालगीत परियोजना पनि सञ्चालित छ ।
हाम्रा नानीबाबुले प्रेमका गीतमा नाच्न नपरोस्, सिनेमाका गीतमा नाच्न नपरोस्, ठूलाका गीतमा नाच्न नपरोस्, त्यस्ता गीत गाउन नपरोस् भनेर नै अभियान चालिएको उहाँको भनाइ छ । इन्टरनेट तथा डिजिटल प्रविधिबाट बालगीतहरु उत्पादन तथा प्रसार गर्ने काम गरिरहेका रामबाबु सुवेदीको युट्युव च्यानल (रामबाबु सुवेदी) मा मात्रै झण्डै डेढ सय बालगीतहरु राखिएको छ ।
निक्की कार्कीको ‘जेट उडाउँछु घुई घुई’, आस्था राउतको ‘चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा’, ‘गुन्यु चोली पटुकी’, ‘मखमली चोली चाहिँदैन’, ‘शिरैमा शिरबन्दी’ लगायतका चर्चित बाल अझ भनौ किशोर गीतहरु सार्वजनिक कार्यक्रम तथा प्रतिस्पर्धाहरुमा गाएको र नृत्य गरेको देख्न पाइनछ ।
बाल गीतको प्रयोग शुन्य जस्तै ?
बाल गीतको प्रयोग सम्बन्धी एउटा सानो अध्ययनको नतिजा हेरौं । यस आलेखका लागि केही महिनाभित्र सञ्चालन भएका दुईवटा बाल गायन रियालिटी शोको अध्ययन गरिएको थियो । एउटा ‘द भ्वाइस किड्स’ सिजन ४ र अर्को ‘सारेगमप लिटिल च्याम्प्स् नेपाल’ सिजन २ । दुईवटै रियालिटी शोमा एक प्रतिशतको हाराहारीमा मात्रै बाल गीतको प्रयोग भएको पाइयो । दुईवटै उही गीतहरुमात्रै दोहोरिएका थिए ।
‘द भ्वाइस किड्स’ मा ६ देखि १४ वर्ष उमेर समूहका बालबालिका सहभागी भएका हुन् । गएको साउन अन्तिम साता सकिएको शोको उपाधि सोनाली राजभण्डारीले जितिन् । उक्त प्रतियोगिताभर एक सय एकचालीस गीतहरु प्रयोग हुँदा झण्डै ८७ प्रतिशत गीतहरु मायाप्रेमका थिए । जसमध्ये सेमिफाइनल र फाइनल चरणमा गाइएका ‘मैं छोरी सुन्दरी’ र ‘मखमली चोलो चाहिँदैन’ भन्ने बोलका दुईवटा मात्रै बाल गीत भन्न मिल्ने थिए । विस्तृत विवरण निम्न तालिका र चार्टमा उल्लेख गरिएको छः

‘सारेगमप लिटिल च्याम्प्स् नेपाल’ सिजन २ मा १५ वर्ष उमेरसम्मका बालबालिका सहभागी भएका थिए । फाइनल चरणसम्म सकिएको उक्त प्रतियोगितामा एक सय चौरानब्बे गीतहरु प्रयोग भएकोमा झण्डै ८६ प्रतिशत गीतहरु मायाप्रेमका थिए ।
जसमध्ये सेलिब्रेसन चरणमा गाइएको ‘शिरैमा शिरबन्दी’ र अडिसन चरणमा गाइएको ‘मखमली चोलो चाहिँदैन’ भन्ने बोलका दुईवटा गीतमात्रै बाल गीत भन्न मिल्ने थिए । विस्तृत विवरण निम्न तालिका र चार्टमा उल्लेख गरिएको छः


बालबालिका लक्षित गायन रियालिटी शोमै बालगीतको प्रयोगको अवस्था निराशाजनक हुनुमा हामी अभिभावक, शिक्षक शिक्षिका, साहित्यकार, सरकार लगायतका सबै सरोकारवालाहरुको ध्यानाकर्षण हुनुपर्छ । यी तथ्यका आधारमा भन्ने हो भने बाल गीत नभएका होइनन् नदेखिइएका वा बेवास्ता गरिएका हुन् । आगामी दिनमा प्रतियोगिताको सफलताको एउटा कडीको रुपमा बाल गीतको प्रयोगलाई लिइनुपर्छ ।
बालबालिकाको शारीरिक विकासका लागि पोसिलो खाना, न्यानो र राम्रो नाना तथा अन्य स्वास्थ्य र शिक्षा सम्बन्धी आवश्यकता बारे अभिभावकहरू केही मात्रामा सचेत भएता पनि बालबालिकाको मानसिक विकास, सुसंस्कार, नैतिकता र सदाचारका लागि मानसिक खुराकको रूपमा बालसाहित्यको खाँचो पर्छ भन्ने कुरामा अधिकांश अभिभावकहरू अनभिज्ञ छन् ।
सर्वप्रथम बालसाहित्यको विकास र बालबालिकाको विकास अभिन्न विषय हो भन्ने कुरा राज्य तथा सरोकारवाला सबै निकाय र व्यक्तिहरूले स्वीकार गर्नुपर्छ ।
sharmabinod2043@gmail.com












