काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले शपथग्रहण गरेकी छन् । बुधबार अपरान्ह राष्ट्रपति भवन शीतल निवासमा मन्त्री न्यौपानेले शपथग्रहण गरेकी हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउने समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

प्रधानमन्त्री ओलीले न्यौपानेलाई मंगलबार मन्त्रीमा नियुक्त गरेका थिए । यसअघिका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले लेनदेन प्रकरणको अडियो बाहिरिएपछि मंगलबार नै राजीनामा दिएका थिए ।
नवनियुक्त मन्त्री न्यौपाने नेकपा एमालेबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्छिन् । उनले आजै साँझ सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्ने बताइएको छ ।












