काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट आशा जगाउने खालको आएको दाबी गरेका छन् । बुधबार पोस्ट बजेट अन्तरक्रियामा अर्थमन्त्री पुनले वर्तमान आर्थिक शिथिलताको अवस्थामा आशा जगाउने खालको बजेट आएको बताएका हुन् ।
चालु आवको प्रक्षेपण नमिलेको अवस्थामा वस्तुपरक बनाउने प्रयास यसपटक भएको उनले बताए । बजेटले आम जनतामा आशा जगाउने प्रयास गरिएको भन्दै उनले युवामा देशभित्र अवसर खोज्ने प्रयास गरिएको उनको भनाइ छ ।
अर्थमन्त्री पुनले निजी क्षेत्र साथमा लिएर मनोबल बढाउने कोसिस गरिएको बताए । उनका अनुसार जुन प्रदेशको विशेषता छ, सोही क्षेत्रका उत्पादनको हब बनाउने प्रयास गरिएको । त्यहाँ अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी केन्द्रित हुनेछ । अध्ययन, तालिम त्यहाँ केन्द्रित हुनेछन् । साथै, स्थानीय तहका हरेक पालिकाका केन्द्रलाई आर्थिक केन्द्रका रूपमा विकास गर्न खोजिएको छ । रोजगारी अब स्थानीय तहमै सिर्जना हुनुपर्छ भन्ने कोसिस गरिएको छ ।