काठमाडौं । गिरीबन्धु टि–स्टेटको जग्गा हिनामिनाको सन्दर्भमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कडा शब्दमा आलोचना गरेका छन् । मेयर बालेनले यक्त प्रकरणमा ओलीलाई समेत जोड्दै बालेनले पीडितको बैना फिर्ता गर्न भनेका छन् ।
बालेनले आधिकारिक सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो ।’ गिरीबन्धु चिया बगानको जग्गामा भएको नीतिगत भ्रष्टाचारमा ओलीको संलग्नता रहेको बालेनको आशय छ । उनले लेखेका छन्, ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू, । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।’
न्युरोडको फुटपाथ क्षेत्र बढाउन बालेनले गरेको प्रयासमा सरकारले गरेको असहयोगप्रति बालेन रुष्ट छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेकपा एमालेका रघुबीर महासेठ छन् । यसमै बालेनले एमाले अध्यक्ष ओलीलाई समेत जोड्दै फेसबुकमा आक्रोश पोखेका छन् । ‘अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ । अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।’